मध्यपन्थीहरुको बिचल्लीः रावलद्वारा बहिस्कार, भुसालको फरक मत, ओली पक्षको प्रतिवेदन केन्द्रीय कमिटीबाट पारित

काठमाडौं । संसद विघटनको बिरोध गर्दै आएपनि पछिल्लो समय माधव नेपालको साथ छोडेकाे आएको मध्यपन्थी धारलाई पुरै उपेक्षा गर्दै एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।

विधान महाधिवेशनका लागि आवश्यक दस्तावेजहरुमाथि छलफल गर्न बोलाइएको बैठकमा मध्यपन्थी धार भनेर चिनिएको माधव नेपाललाई साथ नदिनेहरुको समूहको प्रस्तावमाथि छलफल हुन सकेन ।

तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठानिक प्रतिवेदन र उपमहासचिव बिष्णु पौडेलको विधान मस्यौदा प्रतिवेदन सुझावसहित पारित गरेको हो ।

यतिसम्म कि बैठकमा प्रस्तुत प्रतिवेदनमा छलफलका लागि गठन गरिएका समूहहरुको टोली नेता समेत सबै ओली पक्षका थिए ।

आफ्नो कुरा नसुनिएपछि मध्यपन्थी धारबाट उपाध्यक्ष भीम रावलले आइतबारको बैठक बहिस्कार गरे ।

अर्का नेता घनश्याम भुसालले भने फरक प्रस्ताव राखेका थिए । तर भुसालको प्रतिवेदनमा समेत छलफल गरिएन ।

एमालेभित्रै बसेर अन्तर्सघर्ष गर्ने भन्दै आएको मध्यपन्थी धारलाई पुरै उपेक्षा गर्दै सबै प्रतिवेदन पारित भएका छन् ।

एमालेले अब विधानमै सात उपाध्यक्ष राख्ने सुझाव अनुमोदन गर्ने भएको छ । विधान महाधिवेशनअघि प्रस्तावित एमालेको विधानमा ३ उपाध्यक्ष राख्ने मस्यौदा गरिएको थियो । उक्त मस्यौदामाथि अधिकाँश सदस्यहरुले सात उपाध्यक्षको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए ।

जवाफ दिने क्रममा अध्यक्ष ओलीले उक्त सुझाव राम्रो भएको भन्दै त्यसलाई केन्द्रीय कमिटीबाट निर्णय गरेर अघि बढाइने बताएका थिए ।

यसअघि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले संसद विघटनको बचाउ गरेका थिए । जबकि मध्यपन्थी धारले भने संसद विघटनविरुद्ध सदनमा समेत ओलीलाई साथ दिएका थिएनन् ।

शुक्रबारको बैठकमा १० बुँदे कार्यान्वयनबारे प्रश्न गरेका रावललाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीकै बीचमा स्थायी समिति बसेर त्यसबारे आवश्यक निर्णय गर्ने बताएका थिए । तर अध्यक्ष ओलीले स्थायी समिति बैठक नडाक्ने बुझेपछि रावलले बैठक बहिस्कार गरेका हुन ।

यसअघि स्थायी कमिटी सदस्यबीच भएको अनौपचारिक छलफलमा रावलले आफू पार्टीको पछिल्लो अवस्था र गतिविधिबारे तत्काल नबोल्ने भन्दै केही समय मौन बस्ने बताएका थिए ।

कमेन्ट गर्नुहोस्