जर्मनीमा विश्वकै पुरानो कम्युनिष्ट पार्टी लोकतान्त्रिक समाजवादीको अग्रता

जर्मनी । जर्मनीमा आइतबार सम्पन्न संसदीय निर्वाचनमा विश्वकै पुरानो मानिने जर्मन लोकतान्त्रिक समाजवादी पार्टीले अग्रता कायम गरेको छ ।

एन्जेला मार्केलको सरकारमा समेत सहभागी वामपन्थी पार्टीले शुरुआती अग्रता लिएको हो ।

१६ वर्ष सत्तामा रहेपछि चान्सलर एन्जेला मार्केलले चुनावी मैदानमा नउत्रिने घोषणा गरेकी थिइन ।

निर्वाचनमा तीनवटा पार्टी मैदानमा छन् । यसमा एन्जेला मार्कलकै दल सिडियुलाई लोकतान्त्रिक समाजवादीले पछाडि पार्ने कतिपय चुनावी सर्भेले देखाएका छन् ।

निर्वाचन अघि भएका एक्जिट पोलमा एसपीडिले २५.७ प्रतिशत मत प्राप्त गरेको छ भने सत्तारुढ सिडियू २४.६ प्रतिशत मतदाताको रोजाईमा परेको छ ।
निकै साँघुरो मतान्तर देखिएपनि एसडिपीका नेता ओलाफ स्कल्जले भने जनताले आफूहरुलाई सत्ता चलाउन विश्वास गरिसकेको प्रतिक्रिया दिएका छन् ।

जर्मनीका जनताले लोकतान्त्रिक समाजवादीलाई सरकारको जिम्मेवारी सुम्पिने अवस्थामा यसले यूरोपमा ठूलो असर पर्ने बताइन्छ । सामाजिक न्यायका लागि लड्दै आएको लोकतान्त्रिक समाजवादी पार्टी १८६३ मा स्थापना भएको थियो ।

संसारमा माक्र्सवादको प्रचार प्रसार शुरु हुने समयमा नै यो पार्टी विश्वकै पहिलो कम्युनिष्ट पार्टीका रुपमा उदाएको थियो । वीसौं शताब्दीसम्म यो यूरोपकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी मानिन्थ्यो । पहिलो विश्वयुद्धमा भने युद्धको समर्थक र विरोधी खेमाबीच संघर्ष भएपछि यो विभाजन भएको थियो ।
पश्चिम जर्मनीको समाजवादी पार्टीसँग एकीकरणसँगै यसले नरमपन्थी विचार अँगाल्न पुगेको थियो । हाल यसले आफूलाई मध्यमार्गी वामपन्थी पार्टीका रुपमा अगाडि सारेको छ । महिला अधिकार, उर्जामा सबैको समान अधिकारजस्ता लोकप्रिय नारा यसले अघि सारेको छ ।

कमेन्ट गर्नुहोस्