माओवादी केन्द्रको निर्णय: पालिकाहरुका सम्मेलन मंसिर ४ गते, सदस्यता नवीकरण असाेज मसान्तसम्म

काठमाडौं । नेकपा माओवादी केन्द्रले पालिका सम्मेलनसम्बन्धी यसअघिको निर्णय परिवर्तन गरेको छ ।

आज बसेको स्थायी समिति बैठकले तयारी नपुग्ने भएकोले पालिका सम्मेलन मंसिरको पहिलो हप्ताका लागि सार्ने निर्णय गरेको हो । यसअघि पालिका सम्मेलनहरु असोज ३० गते गर्ने सर्कुलर जारि भएकाे थियाे । चाडपर्वलाइ ध्यानमा राखेर कात्तिक १३ गते वडा सम्मेलनहरू गर्ने र मंसिर ४ गते पालिका सम्मेलन गर्ने माओवादीले निर्णय गरेको छ ।

स्थायी समित सदस्य देव गुरुङले असोज २९ गते दसैंको टीका परेकाले माओवादीले कार्यतालिका परिवर्तन गरेको बताए ‘कात्तिक १३ गते वडा सम्मेलन गर्ने र मंसिर ४ गते स्थानीय पालिकाहरुको सम्मेलन गर्ने भन्ने कुरो छ,’ नेता गुरुङले भने, ‘राष्ट्रिय र प्रदेश सम्मेलन नसार्ने र अरुको समय सार्ने भन्ने विषयमा छलफल भएको छ ।’ जिल्ला र प्रदेश सम्मलेनहरु भने सरेका छैनन् ।

यसअघि, गत साउन ३० मा सम्पन्न माओवादीको केन्द्रीय कमिटी बैठकले भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने कार्यतालिका बनाएको थियो । त्यसैगरी असोज १० गते देशैभर एकैदिन सेल र टोल भेला भनिएको थियो । असोज २० गते वडा सम्मेलनहरू गर्ने र असोज ३० गते दसैंका बेला देशभरिका सबै गाउँपालिका र नगरपालिका सम्मेलन भनिएको थियो । यो कार्यतालिका अनुसार अहिले देशभरि टोल र वठा सम्मेलन भइरहेका छन् ।

स्थायी कमिटीको बैठकले सदस्यता नवीकरण गर्ने मिति असोज मसान्तसम्म थपेको छ । स्थानीय अधिवेशनको समय सारे पनि प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको समय भने नसारिएको गुरुङले बताए ।

पार्टी सदस्यको नवीकरण असोज मसान्तसम्म जारी राख्ने र टोल भेलाहरु कात्तिक ६ गते गर्ने सोमबारको बैठकमा निर्णय भएको गुरुङले जानकारी दिए । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको स्थायी कमिटी बैठकबारे जानकारी दिँदै माओवादी नेता गुरुङले भने, ‘अहिलेको समसामयिक स्थितिका बारेमा अध्यक्षले ब्रिफिङ लिनुभयो । मुख्यरुपमा पार्टीका आन्तरिक सम्मेलनहरुको तयारीका विषयहरुमा छलफल भएको छ ।’

कमेन्ट गर्नुहोस्