लखिमपुर काण्डः मन्त्रीका छोराविरुद्ध हत्याको मुद्दा दर्ता, अधिकांश विपक्षी नेता नजरबन्द, प्रियंका गान्धी हिरासतमा

काठमाडौं । प्रदर्शनमा उत्रिएका किसानहरुमाथि गाडी कुदाएपछि ४ जना किसानको हत्या गरेको आरोपमा भारतका गृह राज्यमन्त्री अजय मिश्रका छोरा आशिष मिश्रमाथि हत्याको आरोपसहित अभियोग पत्र दर्ता गरिएको छ ।

हिजो भएका घटनामा ४ जना किसानको घटनास्थलमैं ज्यान गएको थियो । मन्त्रीका छोराले गाडी चढाएपछि किसानहरुले गाडीका चालकलगायतलाई कुटपीट गर्दा थप ४ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीले दुईवटा गाडी समेत जलाएका थिए ।

घटनालगत्तै कांग्रेस नेता प्रियन्का गान्धी घटनास्थलतर्फ जान खोजेपनि उनलाई आज बिहानै पक्राउ गरिएको छ । भिआईपी सुरक्षालाई छोडेर एक्लै लखनउबाट घटनास्थलतर्फ जाने क्रममा उनलाई पक्राउ गरी राखिएको छ । अन्य विपक्षी दलका नेताहरुलाई भने घरमा नै नजरबन्द गरिएको छ ।

लखनउस्थित आफ्नै घरबाहिर धर्नामा बसेका युपीका पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टीका नेता अखिलेश यादवलाई प्रहरी प्रशासनले हिरासतमा लिएको छ।

यादवसहित समाजवादी पार्टीका नेता प्रोफेसर रामगोपाल यादवसहित करिब एक सय ५० देखि दुई सय कार्यकर्तालाई प्रहरीले हिरासतमा लिएको छ।

किसानहरुले भने आज व्यापक प्रदर्शन गरेका छन् । देशैभरी भइरहेको प्रदर्शनमा उनीहरुले केन्द्रीय गृहराज्यमन्त्री अजय मिश्र टेनीलाई अविलम्ब बर्खास्त गर्नुपर्ने, उनका छोरालाई गिरफ्तार गर्नुपर्ने, पीडित परिवार प्रत्येकलाई एक–एक करोड क्षतिपूर्ति दिनुपर्ने र उनीहरूलाई सरकारी जागिरको व्यवस्था गर्नुपर्ने चारवटा प्रमुख माग राखेका छन्। यसका साथै घटनाको न्यायिक जाँच गर्न समेत माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्