मन्त्री नियुक्तिमा कुनै सेटिङ छैन, अनावश्यक हल्ला गर्नुमा केहि तुक छैन- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्रीपरिषद बिस्तारका बारेमा भइरहेको चर्चाको खण्डन गरेका छन् ।

नेपाली कांग्रेसको कोटाबाट गैर सांसदलाई मन्त्री बनाइएपछि त्यसलाई प्रधानन्यायाधिशसँग जोडेर गरिएको हल्लाको कुनै तुक नभएको उनले बताए ।

शनिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले यसअघि पनि सांसद नभएका व्यक्ति मन्त्री भएको उनले जिकिर गरे ।

न्यायालयले भागबण्डा खोजेको हो ? भन्ने प्रश्नमा प्रचण्डले भने–‘उहाँ कांग्रेसको पहिलाको अध्यक्ष नै हुनुहुन्थ्यो । नेपाली कांग्रेसकै कोटाबाट मन्त्री हुनुभाछ । होहल्ला गर्नु आवश्यक नै छैन । अनावश्यक हल्ला गर्नुमा केहि तुक छैन ।’ सांसद बाहेकका व्यक्ति पनि छ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था संविधानमै भएको भन्दै उनले यसभन्दा अघि पनि धेरै पटक गैर सांसद मन्त्री बनेको बताए ।

पहिलो पटक संविधान सभा विघटन भएपछि हालको सत्तारुढ गठबन्धनले सेटिङको कुरा देशभर चलाएकाले त्यसैलाई कतिपयले भन्न मन लागेर भनेको तर मन्त्री नियुक्तिमा त्यस्तो सेटिङ नभएको उनले दाबी गरे । ‘त्यस्तो केहि होइन । यहाँ केहि सेटिङ छैन’, उनले भने ।

यसैगरी प्रचण्डले आगामी निर्वाचनमा चितवनमा गठबन्धन हुने बताए । चितवन जस्तो जिल्लामा विगतमा पनि गठबन्धनले सफलता पाएको बताउँदै उनले अको निर्वाचनमा पनि निकै समझदारीका साथ गठबन्धन हुने बताए । ‘जुन परिस्थितीमा गठबन्धन निर्माण ग¥यौँ । यहाँसम्म ल्याउन जे भूमिका खेलेका छौँ । गठबन्धन भएरै जान्छ । चितवन जस्तो ठाउँमा त अझ बढी समझदारीका साथ नै जान्छौँ’, उनले भने ।

प्रचण्ड चितवन उद्योग संघको कार्यक्रममा भाग लिन चितवन पुगेका हुन । जिल्लामा उनले अन्य कार्यक्रममा समेत सहभागिता जनाउनेछन् ।

प्रचण्डले चितवनमा पूर्वाधार विकासमा राम्रो प्रगति भइरहेको बताए । ‘सिटी हल, औद्योगिक क्षेत्र लगायत सबै क्षेत्रमा चितवनले विकासमा गुणात्मक फड्को मार्दै छ । विमानस्थल विस्तार गर्ने विषयलाई फेरि अघि बढाइन्छ’, उनले भने ।

माडीमा राम मन्दिर निर्माण गर्ने विषयलाई अघि बढाउन नचाहेको प्रचण्डले संकेत दिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माडीको अयोध्यापुरीमा भगवान रामको जन्म भएको भन्दै त्यस ठाउँमा राम मन्दिर निर्माण गर्नुपर्ने बताएका थिए । उनले आफ्नो सरकारका बेलामा राम मन्दिर निर्माण गर्न भनेर बजेट समेत व्यवस्था गरेका छन् ।

अहिले सत्तारुढ दलका नेता प्रचण्डले भने पहिला त्यसको आधिकारीकता पुष्टि हुनुपर्ने बताएका छन् । ‘राम मन्दिर बनाउने कुरा, त्यसलाई आधिकारीकता दिने कुरा सरकारले पहिला गर्नुपर्छ । त्यो नगरी सस्तो लोकप्रियता र प्रचारका लागि । राजनितिक षड्यन्त्रका रुपमा राम भगवानलाई दुःख दिनु हुँदैन भन्ने मेरो विचार’, उनले भने ।

कमेन्ट गर्नुहोस्