समान्तवादी राजनीतिक संस्कार र समाजवादी नारा

तिलक राज भण्डारी
राजनीतिक चेतना नै मानव समाज परिचालनको उत्कृष्ट चेतना हो । दर्शनशास्त्र, राजनीतिक सिद्धान्त, वर्गीय पक्षधरता, राजनीतिक एजेण्डा, राजनीतिक संस्कार र राजनीतिक व्यवहार मार्फत राजनीतिक चेतनाको अभिव्यक्त हुने गर्दछ । मानव समाजको विकासक्रममा विकास भईरहेका यी अभूतपूर्व परिवर्तन र क्रान्तिहरु राजनीतिक चेतनाकै उपज हुन भन्ने कुराको खण्डन अहिलेसम्म कसैले गर्न सकेको छैन ।

राजनीतिक चेतना मानव समाज तथा प्रकृति जगतको अन्तक्र्रिया र अन्तरव्यवहारबाट पैदा हुने गर्दछ । भौतिकवादले चेतनालाई पदार्थको उपजको रुपमा स्वीकार गरेको छ । मानव समाजमा जतिपनि अविस्कार र अन्वेषणहरु भएका छन् त्यी सबै मानव जगत र मानवजगतको संगसर्गमा रहेका प्राकृतिक जगतका उपज हुन भन्ने यथार्ततालाई हामीले आत्मसाथ गर्नै पर्दछ ।

मानव जगत र प्रकृति जगतको ऐतिहासिक विकासक्रम र उक्त विकासक्रममा मानवीय चेतनाको सचेतन वा अचेतन परिचालनबाट होस् या प्राकृतिक घटना र दुर्घटनाबाट मानव समुदायले जे सिक्दै आएको छ आज त्यी सबै निश्कर्षहरु मानवीय चेतनाको रुपमा स्थापित भएका छन् ।

मानवीय चेतनाको व्यवस्थित परिचालनमा मार्फत प्रकृतिमाथी प्रभूत्व जमाउने प्रतिस्पर्धा नै अन्ततः राजनीतिक प्रतिस्पर्धा हो । यो राजनीतिक प्रतिस्पर्धामा मानिसले नै राजनीतिक दर्शन, विचार, सिद्धान्त, एजेण्डा र पक्षधरतालाई भौतिक शक्तिमा रुपान्तरण गर्ने ध्ययेले राजनीतिक संगठन र संरचनाको विकास गरेका छन् ।

राजनीतिक विचार, सिद्धान्त, दर्शन, दृष्टिकोण र पक्षधरताको आधारमा नै राजनीतिक संगठन र संरचनाहरुको गठन र विकास भईरहेका छन् । यी संगठन तथा संरचनाहरुको परिचालनमार्फत विद्यमान राजनीतिक व्यवस्था चलिरहेको छ । उक्त राजनीतिक व्यवस्था सञ्चालनको क्रममा विभिन्न माध्यामबाट नेता, कार्यकर्ता र जनताको राजनीतिक चेतना अभिव्यक्त भईरहेको हुन्छ नै ।

राजनैतिक नेता, कार्यकर्ताहरुको दिनचर्या, राजनीतिक ब्यवहार तथा राजनीतिक संगठन परिचालनबाट नै हरेक देशको राजनीतिक संस्कार अभिव्यक्त भईरहेको हुन्छ ।

विद्यमान समाजको आर्थिक प्रणाली, उत्पादन सम्बन्ध, सामाजिक संरचना र राजनीतिक सिद्धान्तले नै राजनीतिक संस्कारको निर्धारण गर्ने हो । तसर्थ हामीले हाम्रो मुलुकको आर्थिक प्रणाली, उत्पादन सम्बन्ध, सामाजिक संरचना र उक्त राजनीतिक दलले अवलम्बन गर्ने दर्शन तथा राजनीतिक सिद्धान्तको वस्तुगत अध्ययन नगरी अमूक नेता कार्यकताहरुको जीवन ब्यवहार र संस्कार को टिकाटिप्पनी गर्नु अल्पज्ञानकै उपज हो ।

हामीले कहिले कांहि राजनीतिक दल तथा नेता र कार्यकर्ताले अवलम्बन गर्ने राजनीतिक दर्शन र सिद्धान्तको आधारमा मात्रै उक्त राजनीतिक संस्था र व्यक्तिको राजनीतिक संस्कारको अपेक्षा र अनुमान गर्न थाल्दछौं । जहाँ हाम्रो अपेक्षा र अनुमानभन्दा नितान्त फरक राजनीतिक संस्कार देखा पर्दछ त्यहिँनिर हाम्रो पनि लघुचेतना अभिव्यक्त हुने गर्दछ ।

नेपालको विद्यमान सन्दर्भलाई हेर्ने हो भने अधिकांस राजनीतिक दल र नेता, कार्यकर्ताहरुको राजनीतिक संस्कारमा तपाई हामीले ठम्याउने गरी भिन्नता भेटाउन सकिदैन । तर हामी अपेक्षा र अनुमान गर्छाै कि यो कम्युनिष्ट पार्टी र नेता, कार्यकर्ताको राजनीतिक संस्कार यस्तो हुनुपर्ने हो । त्यो गैर कम्युनिष्ट पार्टी त्यसका नेता, कार्यकर्ता हरुको राजनीतिक संस्कार त्यस्तो हुनुपर्ने हो । तर हाम्रो अनुमान र अपेक्षा अनुसार कहिल्यै त्यी नेता, कार्यकर्ताहरुको राजनीतिक व्यवहार पाउदैनौं र हामी जथाभावी टिकाटिप्पनी देखि गाली गलौजसम्म उत्रिन्छौं । हो यहिँनिर हाम्रो पनि राजनीतिक चेतना र संस्कारको स्तर अभिव्यक्त भईरहेको हुन्छ ।

क्षतविक्षत भएको जनसम्बन्ध र धराशाही भएको संगठनात्मक पद्धतिबाट नत क्रान्तिकारी विचार र नेतृत्वको रक्षा सम्भव छ नत समाजवादी अभियानको आधार निर्माण गर्न सम्भव छ ।

राजनीतिक चेतना र संस्कारको अभिव्यक्ति राजनीतिक नेता, कार्यकर्ताको व्यबहारबाट मात्रै होईन कि आम नागरिकको चेतना स्तर र जीवन व्यवहार बाट पनि प्रस्तुत हुने गर्दछ । तसर्थ राजनीतिक चेतना र संस्कार निर्माणमा राजनीतिक व्यबहारमा सहभागी हुने नेता,कार्यकर्ता र आम नागरिकहरुको परोक्ष तथा अपरोक्ष भूमिका रहिरहन्छ भन्ने कुरा हामीले बुझ्नै पर्दछ ।
आजको सन्दर्भमा नेपालका हरेक राजनीतिक पार्टी तथा नेता, कार्यकर्ताहरुले समाजावादी अर्थराजनीतिको वकालत गरिरहेका छन् । यदपी विद्यमान अवस्थामा उनीहरु भर्खर मात्रै सामन्तवादी अर्थराजनीतिक धरातलबाट पूँजीवादी अर्थराजनीतिमा प्रवेश गर्दैछन् । तसर्थ समान्तवादबाट पूँजीवादतर्फ संक्रमणको चरणमा रहेको हाम्रो अर्थराजनीतिक प्रणाली र उत्पादन सम्बन्धबाट राजनीतिक दलहरुको दस्तावेजमा सम्पादन गरेको र नेताकार्यकर्ताहरुको भाषणमा गुञ्जिए जस्तो समाजवादी राजनीतिक संस्कार सम्भव छैन ।

समान्तवादबाट पूँजीवादतर्फ संक्रमणको चरणमा रहेका विद्यमान अर्थ राजनीतिक प्रणाली र निर्वाहमूखी टुक्रे उत्पादन सम्बन्धबाट पैदा हुने राजनीतिक चेतना र संस्कार भनेको सामान्ती संकुचनबाट व्यक्तिवादी स्वतन्त्रतातर्फ लम्केको मात्रै हुन्छ । उक्त राजनीतिक संस्कारमा तदर्थवादी सोचाई, आत्मकेन्द्रित व्यक्तिवाद, संकुचित राजनीतिक व्यवहार, निजी पूँजीको केन्द्रीकरण, शक्तिको केन्द्रीकरण, व्यक्तिवादी महत्वाकांक्षा, आडम्बर तथा नोकरशाही कार्यशैली जस्ता चरित्रहरु देखा पर्दछन् । र, त्यसको रक्षार्थ त्यस अनुकुलका राजनीतिक संरचनाको विकास तथा परिवार र आफन्तको घेराबन्दी देखि पार्टी संगठनभित्र आफुनिकटका स–साना गुट र झुण्डहरुको परिचालनसम्म मात्र फैलिएको हुन्छ । त्यो भन्दा बाहिर र त्यसमा पहँुच स्थापित हुन नसकेकाहरुको पनि व्यक्तिगत कुण्ठा, प्रतिसोधात्मक टिकाटिप्पनी देखि गाली–गलोज गर्ने समूह र झुण्डहरुको निर्माणसम्म मात्रै फैलिएको हुन्छ ।

यो राजनीतिक संस्कार सामन्तवादबाट पूँजीवादतर्फको संक्रमणदेखि पूँजीवादको पूर्ण विकाससम्म अस्तित्वमा रहन्छ । र, पूँजीवादको पूर्ण विकासको अन्तिम चरणमा हुने नयाँ अर्थराजनीतिक प्रणालीको चरित्रले नै त्यसपछिको राजनीतिक संस्कार र चेतनाको निधारण गर्दछ । अहिले नै समाजवादी अर्थराजनीतिको हवाला दिने र राजनीतिक संस्कारको अपेक्षा गरेर वर्वराउने नेता,कार्यकर्ता र जनता सम्मको लघुचेतनाबाट तत्काल हामी बच्नैपर्दछ ।

राजनीतिक चेतना र संस्कार निर्माणको प्रक्रियमा राजनीतिक नेतृत्व र जनताबीचको सहकार्य तथा जीवन्त व्यवहारको अभाव छ

यसरी राजनीतिक चेतना र संस्कारको विकासमा ऐतिहासिक निरन्तरतको श्रृंखला हुन्छ नै । उक्त राजनीतिक चेतना र संस्कारलाई बैज्ञानिक, समयसापेक्ष र जनपक्षीय बनाउदै जाने कुरामा राजनीतिक नेतृत्वको सचेतन पहलकदमी हुनै पर्दछ । एक कुशल राजनीतिक नेतृत्वले सचेतन पहलकदमीबाट राजनीतिक सिद्धान्त, कार्यदिशा र वर्गीय पक्षधरता अनुसारको राजनीतिक व्यवहार र संस्कारको विकास गर्ने कुरामा नेतृत्वदायी भूमिका खेल्ने कुराले मात्र चेतना र पदार्थको द्वन्द्धात्मकता स्थापित गर्दछ । विद्यमान मानव समाजको सामाजिक व्यवहार तथा प्रकृतिक जगतका घटना परिघटनाबाट सिक्ने र त्यहि मानव जगतको नेतृत्व गर्दै प्रकृति जगतसंग विजयी हाँसिल गर्ने लक्ष्यमा अगाडी बढ्ने राजनीतिक महत्वाकांक्षा राजनीतिक नेतृत्वमा हुनैपर्दछ ।
यसरी नयाँ र बैज्ञानिक राजनीतिक चेतना र संस्कार निर्माण गर्ने प्रक्रियामा निरन्तरता र धक्कामूलक क्रमभंगताको समेत समुचित तालमेल जरुरी हुन जान्छ ।

राजनीतिक संस्कार निर्माणको प्रक्रियमा राजनीतिक नेता, कार्यकता हुँदै आम नागरिकलाई सहभागी बनाएरमात्रै वस्तुगत निष्कर्षमा पुग्न सकिन्छ । ज्ञानसिद्धान्त्को सन्दर्भमा जनतबाट सिक्ने जनतालाई सिकाउने द्वन्द्धात्क पद्धति अवलम्वन गर्न सकिएन भने राजनीतिक नेतृत्वले भन्न खोजेको कुरा जनताले नबुझ्ने र जनताको अपेक्षा र चाहाना राजनीतिक नेतृत्वले पहिचान गर्न नसक्ने विडम्बनापूण परिस्थितिको पैदा हुने गर्दछ । आज नेपालको राजनीतिक संस्कारमा यहि परिस्थिति पैदा भएको छ । आजको राजनीतिक व्यवहारलाई बुझ्ने सन्दर्भमा राजनीतिक नेतृत्व, कार्यकर्ता र जनताको विचमा ठूलो अन्तर देखा परेकोछ । राजनीतिक नेतृत्वले राम्रो ठानेको विषयलाई जनताले नराम्रो बुझ्ने र जनताले राम्रो टिकाटिप्पनी गर्दा राजनीतिक नेतृत्वले विरोध र गालीगलोज गरेको मात्रै बुझ्ने समस्या पैदा भएको छ ।

यसको सही निश्कर्ष हो राजनीतिक चेतना र संस्कार निर्माणको प्रक्रियमा राजनीतिक नेतृत्व र जनताबीचको सहकार्य तथा जीवन्त व्यवहारको अभाव छ । हामीले जहाँबाट जे सुनेका छौं जे बुझेका छौं त्यो कुरा र जनताले जहाँबाट जे सुनेका छन्, जे बुझेका छन् त्यसमा व्यापक अन्तर छ । अझ जनअभिमतबाट निर्वाचित राजनीतिक नेतृत्व र निकायले जनताको बिचमा जीवन्त राजनीतिक व्यवहारबाट राजनीतिक चेतना र संस्कारमा आवश्यक एकरुपता कायम गर्न सकेन भने भविश्यमा हुने डरलाग्दो अवशानलाई कसैले रोक्न सक्दैन ।

विद्यमान सामन्तवादी राजनीतिक संस्कार र समाजवादी नाराबिचमा तादम्यता कायम गर्न सकिएन भने नेतृत्व, कार्यकर्ता र जनताबिचको विश्वासमा डरलाग्दो ह्रास आउनेछ । परिणमतः क्षतविक्षत भएको जनसम्बन्ध र धराशाही भएको संगठनात्मक पद्धतिबाट नत क्रान्तिकारी विचार र नेतृत्वको रक्षा सम्भव छ नत समाजवादी अभियानको आधार निर्माण गर्न सम्भव छ । चेतना होस् ।

कमेन्ट गर्नुहोस्