जन्ती गएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

अछाममा जन्ती गएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

दुर्घटनामा गाडी चालकसहित अन्य १६ जना बढी घाइते भएका छन्। दुर्घटना के कारणले भयो भन्ने खुलेका छैन। जिप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

आइतबार राति पन्चदेवल विनायक नगरपालिका-१ कुइकामा से१च १७६३ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो।

मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका-२ का १४ वर्षीय जीवन न्यौपाने, सोही वडाका १८ वर्षका सर्प बोहरा र वडा नम्बर ३ का १७ वर्षका जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

घाइते १६ जनामध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहीलाई नेपालगन्ज रिफर गरिएको छ।

कमेन्ट गर्नुहोस्