साफ च्याम्पियनमा षडयन्त्रको गन्धः प्रशिक्षक अल्मुताइरीलाई टेक्निकल एरियामा बस्न प्रतिबन्ध

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ चाम्पियनसिप २०२१ को शनिबार हुने फाइनलमा ‘टेक्निकल एरिया’ मा बस्न नपाउने गरेर कारवाहीको विरोध गरेका छन् । प्रतियोगिताको आयोजक दक्षिण एसियाली फुटबल महासंघले गरेको निर्णयमा आपत्ति जनाउँदै उनले यो निर्णय फिर्ता लिनुपर्ने बताए ।

राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगिताको लिग चरणमा दुई पहेँलो कार्ड खाएपछि उनलाई फाइनलमा ‘टेक्निकल एरिया’ मा बस्न नपाउने गरेर निर्णय गरेको हो । उनले शनिबार बिहान आयोजित भुर्चअल प्रेस मिटमा भने, ‘यो कारवाही ममाथि मात्र भएको होइन, नेपाली फुटबल टिम र समग्र नेपाली फुटबलमाथि भएको कारवाही भएको हो ।’

उनले थपे, ‘साफ च्याम्पियसिप २०२१ को नियमावालीमा कतै पनि प्रशिक्षकले दुई पहेँलो कार्ड खाएपछि टेक्निकल एरियामा बस्न नपाउने भनिएको छैन । प्रत्येक प्रतियोगिताको आफ्नो अलग नियम हुन्छ ।’ उनले नेपाललाई साफ च्याम्पियनसिप जित्नबाट रोक्न यस्तो निर्णय भएको पनि आरोप लगाए ।

प्रशिक्षक अल्मुताइरीका अनुसार उक्त निर्णय उल्टाउनका लागि प्रयास भइरहेको छ । ‘ यो निर्णय उल्टाउनका लागि प्रयास गरिरहेका छौं र यो निर्णय सच्चिनु पनि पर्छ । दक्षिण एसियाली फुटबल महासंघले यो निर्णय गरेर भुल गरेको छ,’ उनले भने ।

फाइनलमा भारतीय प्रशिक्षक इगोर स्टिमेक पनि खेलका क्रममा ‘टेक्निकल एरिया’ मा बस्न पाउने छैनन् । उनलाई माल्दिभ्सविरुद्धको खेलमा सिधा रातो कार्ड देखाइएको थियो ।

कमेन्ट गर्नुहोस्