सकियो स्थायी समिति बैठक, आज भएन कुनै निर्णय, भोली बिहान फेरी बस्ने

काठमाडौं । नेकपा स्थायी समिति बैठक सम्पन्न भएको छ ।

आज बसेको बैठकमा संगठनका बिभिन्न तहका जिम्मेवारीलगायतका विषयमा छलफल भएपनि ठोस निर्णय भने हुन सकेन ।

माओवादीको यसअघिको स्थायी समिति र्बैठकले जिम्मेवारी टुंगो लगाएपनि त्यसमाथि चर्को असन्तुष्टि सार्वजनिक भएको थियो ।

आजको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रविन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनको विषयका बारेमा छलफल भएको छ।

बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटीको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरू उठेको तर निष्कर्षमा नपुगेको जानकारी दिए । उनले स्थायी कमिटीमा उठेका कुराहरूलाई छलफलपछि मात्रै निष्कर्ष आउने बताए । ‘आज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भयो, आज खास गरेर आगामी सम्मेलनलाई केन्द्रविन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनको विषय प्रवेश गरेको छ, विषय निष्कर्षमा पुगेको छैन, भोलि बिहान ८ बजे फेरि स्थायी कमिटीको बैठक बस्छ र भोलि निर्णय हुन्छ, एजेण्डा प्रवेश भएको छ, छलफल सुरु भएको छ, भोलि मात्रै निर्णय हुन्छ’, महराले जानकारी दिए ।

पार्टीको अर्को बैठक मंगलबार बिहान ८ बजे बस्नेछ । मंगलबारको बैठकपछि मात्रै स्थायी कमिटीमा उठेका कुराहरूको निर्णय गरिने प्रवक्ता महराले बताए । स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले विभिन्न पार्टीबाट पार्टी एकतामा आएका नेताहरूको जिम्मेवारी र संगठनका आन्तरिक विषयमा पेस भएका प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरूले बोल्ने क्रम जारी रहेकाले बैठकले कुनै निर्णय नगरेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्