प्रचण्ड र माओवादीबाट तर्सिएका ओलीकाे बर्बराहट

काठमाडौं । पछिल्ला केही दिनहरुमा नेकपा एमालेका अध्यक्ष ओलीको मुखमा प्रचण्ड झुण्डिएका छन् । एमालेका तानाशाहका रुपमा आफ्नो छवि बनाएको ओलीले आफू सत्ताबाट बहिर्गमन हुनुका पछाडि प्रचण्डलाई मुख्य कारण देख्दै आएका छन् । अरुले त के सक्थे, प्रचण्डले यो हालतमा पुर्याए भन्ने उनलाई परेको छ । त्यसैले उनले माओवादीलाई आलोचना गर्छन्, प्रचण्डको खोइरो खन्छन् । आफूले बोलेर मात्र नपुगेर आफ्ना आसेपासेहरुलाई आलोचना गर्न लगाउँछन् ।

यतिले मात्रै नपुगेर ओलीकै निर्देशनमा एमालेले आफ्ना आगामी १० देखि १२ गतेसम्म बुटवलमा हुने महाधिवेशनको स्थान समेत परिवर्तन गर्ने निर्णय गर्यो । आफ्नो मुख्य दुश्मन प्रचण्डलाई देखेको एमालेले अब भने चितवनमा महाधिवेशनगर्ने निर्णय गर्यो । यसका लागि व्यवस्थापनको जिम्मेवारी एमाले नेता रामबहादुर थापालाई दिएको छ ।

एमालेले यस्तो निर्णय किन गर्यो भने प्रचण्डको गृहजिल्ला चितवन हो र उनले यसअघि त्यहाँबाट निर्वाचन जितेका हुन अर्कोतर्फ माओवादीबाट गद्धारी गरेर बादल एमालेमा गएका हुन र उनको गृहजिल्ला पनि चितवन नै हो ।

यो एमालेको हतास मानसिकता त हो नै यसलाई प्रचण्ड फोबियाका रुपमा समेत लिन सकिन्छ ।

राजनीतिमा विचार र एजेण्डा रित्तिएपछि कुण्ठा पोख्दै गाली र अनैतिक गतिविधिको सहारा लिने गरिन्छ । अहिले एमाले र त्यसका अध्यक्ष ओलीले त्यही चरित्र देखाएका छन् । उनका लागि प्रचण्ड असह्य भएका छन् । माओवादीको आक्रामक संगठन निर्माण र राजनीतिमा प्रभाव उनका लागि असह्य बनेको हो ।

तर ओलीले के बुझ्नु जरुरी छ भने राजनीतिमा नैतिकता र विचारको ओजका अगाडि गाली, आलोचना र कुण्ठाको अर्थ रहँदैन । नेपालको राजनीतिका किंगमेकर प्रचण्ड नै हुन । पछिल्ला दशकहरुमा कैयनपटक पछाडि हटनुपर्ने बाध्यता झेलेपनि प्रचण्डले नै नेपाली राजनीतिलाई यथास्थितिबाट धक्का दिएर अगाडि बढाएका छन् । संविधान निर्माण होस् या नेकपा गठन होस वा नेकपाको विघटनपछि ध्वस्त हुन थालेको राजनीतिक प्रणाली जोगाउने काम होस्, प्रचण्डले हरेकपटक मुलुकलाई दुर्घटनाबाट जोगाएका छन् ।

ओलीले आफ्नो सत्ता बहिर्गमन र अहिलेको अवस्था सिर्जना हुनुमा अरुलाई दोष दिने हैन, आफैतर्फ फर्केर हेर्नु जरुरी छ । पाँच वर्ष प्रधानमन्त्रीको अफर प्रचण्डले नगरको हुन र ? तर दम्भ र घमण्डका कारण प्रधानमन्त्री त छोडौं, ओलीका अगाडि बृहत्तर कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने अवसर समेत गुमेको तथ्य कसैबाट लुकेको छ र ? प्रचण्डको नियत सही थियो, ओलीको नियत कपटपूर्ण थियो । संवादबाट भागेर सत्ताको मादमा उनले जे जस्ता कर्तुतहरु गरे, त्यसले पार्टी र प्रणाली दुबै ध्वस्त पार्न खोजेको हो । यो यथार्थ हो । यसलाई स्वीकार गरेमात्रै ओलीको भावी अस्तित्व सम्भव होला ।

प्रचण्डले नेकपा एकता आफ्नो स्वार्थका लागि गरेका थिएनन् । त्यो एकता नगरेको भए उनी त्यतिबेलै प्रधानमन्त्री बन्थे । नेकपाको एकता भएपछि पनि आलो्पालोको सहमति अनुरुप उनी प्रधानमन्त्री बन्न सक्थे । तर त्यागको यो इतिहासमाथि अहिले ओलीले दम्भी भएर कुण्ठा पोखिरहेका छन् । उनी एकअर्थमा विक्षिप्त नै बनेका छन् ।

यथार्थ के हो भने ओलीले जतिसुकै प्रचण्डको आलोचना गरेपनि या एमालेको अधिवेशन खुमलटार प्रचण्ड निवास छेउछाउमैं गरेपनि यसले प्रचण्डको वैचारिक र राजनीतिक नेतृत्वलाई अलिकति पनि प्रभाव पार्दैन । किनभने राजनीति विचार र एजेण्डाले चल्छ, दम्भ, घमण्ड र कुण्ठाले होइन ।

कमेन्ट गर्नुहोस्