खानेपानी कार्यालय प्रमुख कुशवाहामाथि दुव्र्यवहार गर्ने १७ विरुद्ध मुद्दा दर्ता

जनकपुर । कार्यसम्पादनप्रति असन्तुष्टि पोख्दै खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहामाथि दुव्र्यवहार गर्ने १७ जनाविरूद्ध मुद्दा दर्ता भएको छ।

सिके राउत समर्थकहरुले बिहीबार दिउँसो उनलाई कार्यकक्षबाट तानेर हिजो छ्याप्दै बजार परिक्रमा गराएका थिए ।

प्रहरीले दुव्र्यवहार गरेको आरोपमा जनमत पार्टीका १७ जना नेता, कार्यकर्तामाथि सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा दर्ता गराएको हो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार कर्मचारीलाई अभद्र व्यवहार र कार्यालयमा तोडफोड गर्ने अधिकांश सिरहा, सर्लाही र महोत्तरीका छन्।

जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेम किशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेताहरू संजय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, संजय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डलविरूद्ध मुद्दा दर्ता गरिएको उनले बताए।

उनीहरूविरूद्ध अपराधी प्रवेश तथा अपराधी उपद्रव शीर्षकमा मुद्दा चलाइएको हो।

‘यो मुद्दामा क्षतिपूर्तिसहित अधिकतम चार वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ,’ डिएसपी बस्नेतले भने।

जनकपुरधाम उपमहानगरपालिका(८ स्थित बलवा टोलमा पार्टी अध्यक्ष सिके राउतको बसोबास रहेको घर छेउको सडकमा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहामाथि उनका कार्यकर्ताले दुर्व्यवहार गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुरूमा १० जनालाई नियन्त्रणमा लिएको थियो।
उनीहरूलाई रिहा गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी राउतका कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि थप ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानपछि १७ जनामाथि मुद्दा दर्ता गर्ने र बाँकीलाई छोड्ने निर्णय भएको डिएसपी बस्नेतले बताए।

पक्राउ गरेका ४५ जनालाई बिहीबारै अबेर राति हिरासमुक्त गरिएको थियो। मुद्दा दर्ताको विरोधमा पार्टीका अध्यक्ष राउतको निर्देशनमा उनका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने तयारी गरेका छन्।

कमेन्ट गर्नुहोस्