भारतको लज्जाष्पद हारः पाकिस्तान १० विकेटले विजयी

काठमाडौं । टी २० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को पहिलो खेलमा भारतले लज्जाष्पद हार ब्यहोर्नु परेको छ ।

टस हारेर ब्याटिङ गर्न पुगेको भारतलाई पाकिस्तानका बलरहरुले ७ विकेटको क्षतिमा १५१ रन मात्रै जोडन दिए ।

भारतले राखेका १५२ रनको लक्ष्य पछ्याउँदै पाकिस्तानले भने शून्य विकेटको क्षतिमा १७.५ ओभरमा लक्ष्य भेट्ट्याएको थियो ।

विश्वकप क्रिकेटमा भारतविरुद्ध पाकिस्तानको यो दोश्रो जीत हो ।

पाकिस्तानका लागि ओपनर ब्याट्सम्यान मोहम्मद रिजवान र बाबर आजमले अविजित १ सय ५२ रनको पारी खेले ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ५५. बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ७८ रन बनाउ भने बाबर आजमले ५२ बल खेल्दै ६ चौका र २ छक्काको सहायताबाट ६८ रन जोडन सफल भए ।

भारतका बलरहरु रिजवान र आजमका अगाडि निरिह बनेपछि पाकिस्तानले सहजै जीत हासिल गरेको हो ।

आजको खेल हेर्न ९० प्रतिशत बढी टिकेट भारतीय टीमका समर्थकहरुले मात्रै किनेका थिए । तर भारतको लज्जाष्पद हार भएपछि भारतीय टीमका समर्थकहरुबीच रुवावासी चलेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।

भारतका लागि भुवनेश्वर कुमार, मोहम्मद शमी, जसप्रीत बुमराह, वरुण चक्रवर्ती र रवींद्र जडेजाले बलिङ गरेका थिए ।

यसअघि भारतले टस हारेर पहिलो ब्याटिङ गर्दै कप्तान विराट कोहलीको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । कप्तान कोहलीले सर्वाधिक ५७ रन बनाए । ४९ बलको पारीमा उनले ५ चौका र १ छक्का हिर्काए ।

भारतले खेलमा निकै शुरुवात भने निकै खराब गरेको थियो । ६ रनको अवस्थामा नै भारतले दुवै ओपनरलाई गुमाएको थियो । सूर्यकुमार यादव पनि ११ रन बनाएर आउट भएपछि कोहलीले ऋषभ पन्तसँग मिलेर भारतको पारी सम्हाले । पन्तले ३९ रनको योगदान दिए । त्यसपछि कोहलीलाई रवीन्द्र जडेजाले १३ रन बनाउँदै साथ दिएका थिए । १९ औँ ओभरमा कोहली क्याच आउट हुन पुगे । पाकिस्तानका लागि शाहिन अफ्रिदीले ३ विकेट लिए भने हसन अलीले २ विकेट लिए ।

कमेन्ट गर्नुहोस्