वार्षिक ५ अर्बको किसान राहत कोष स्थापना गर्न किसान संगठनको माग

काठमाडौं । किसानहरुलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन ५ अर्ब बराबरको किसान राहत कोष (कृषि सहायता कोष) स्थापना गर्न अखिल नेपाल किसान संघ (क्रान्तिकारी केन्द्र)ले माग गरेको छ ।

संगठनले आज एक एक विज्ञप्ती जारी गर्र्दै बाढी पहिरो जस्ता प्राकृतिक विपत्तीलगायतका समस्याहरु नियमित रुपमा आइरहने भएकोले त्यस्ता समस्याहरु पर्दा वास्तविक उत्पादक किसानहरुलाई सहज तथा सरल तरिकाले तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन हरेक वर्ष कम्तिमा ५ अरब रुपैयाँ बराबरको बजेट विनियोजन गरी ‘किसान राहत कोष (कृषि सहायता कोष)’ स्थापना र सञ्चालन गर्न माग गरेको हो ।

संगठनले हालैमात्र देशका बिभिन्न भागमा बाढी र पहिरोका कारण पीडित किसानहरुको तत्काल लगत संकलन गरी क्षतिका आधारमा क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन र नेपाल सरकारले घोषणा गरेको राहत प्याकेज जनताले अनुभूति गर्ने गरी तत्क्षण कार्यान्वयन गर्न समेत माग गरेको छ ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत कृषि सहायता कोष स्थापना गरी किसानहरुलाई राहत र क्षतिपूर्ति दिनुपर्ने बताएका थिए । अखिल नेपाल किसान संघले राहत कोषलाई स्थायी संरचनाको रुपमा विकास गरी किसानहरुलाई आइपर्ने समस्याहरुमा सहयोग गर्नुपर्ने धारणा अघि सारेको हो । यसका लागि वार्षिक ५ अर्ब रुपैयाँ बजेट विनियोजन गर्नुपर्ने संघको धारणा सार्वजनिक भएको हो ।

संगठनका अध्यक्ष चित्रबहादुर श्रेष्ठले प्राकृतिक विपत्तीका कारण घरखेत, बालीनाली, बिउजबिजन, पशुपन्छी र चौपाया गुमाउनुपरेको अवस्थामा यसले देशमा खाद्यान्न संकटको सिर्जना हुने अवस्था सिर्जना भएको ठहर गर्दै विज्ञप्ती जारी गरेको हो ।

हालै आएको बाढी पहिरोपछि सरकारले देशैभरी क्षतिको लगत तयार गरी क्षतिपूर्ति दिने कार्य अघि बढाएको छ । तर यसको सुनिश्चितताका लागि राहत कोषलाई व्यवस्थितरुपम अगाडि बढाउनुपर्ने किसान संगठनले बताएको छ ।

पढ्नुस विज्ञप्ती

प्रेस विज्ञप्ति
मनसुन सकिएपछि झण्डै एक हप्ता देशभर परेको अविरल वर्षा र त्यसको कारण आएको बाढी, पहिरो र डुबानमा परी देशका विभिन्न भागहरु जलमग्न भए, ३०० भन्दा धेरै नागरिकहरुले जीवन गुमाए, दर्जनौँ बेपत्ता र घाइते भए । देशको दुईतिहाइ जनसंख्या ओगटेका किसानहरुको मुख्य बाली, जीवन र जीविकाको अभिन्न हिस्सा तथा राष्ट्रिय अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान गर्ने धानबाली भित्राउने समयमा पर्न गएको यस्तो प्राकृतिक विपद्का कारणले किसानहरुले आफ्ना परिवारका सदस्य, घरखेत, बालीनाली, बिउबिजन, पशुपन्छी र चौपाया गुमाउनुपर्ने अवस्था आयो । किसानहरु पीडा र वेदनाले धुरुधुरु रुनुपर्ने अवस्था सिर्जना भयो । अर्कोतिर सिंगो देशमा खाद्य अभाव हुने अवस्था सिर्जना भयो । यस सन्दर्भमा नेपाल सरकारले राहतको प्याकेज घोषणा गरिसके पनि हालसम्म किसानहरुले सो राहत प्राप्त गर्न वा प्राप्त हुने कुराको सुनिश्चितता हुन सकेको छैन । त्यसैले अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) वर्षा, बाढी, पहिरो तथा डुबान प्रभावित सम्पूर्ण किसानहरुको सहभागितामा तत्काल लगत संकलन गरी क्षतिका आधारमा क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन र नेपाल सरकारले घोषणा गरेको राहत प्याकेज जनताले अनुभूति गर्ने गरी तत्क्षण कार्यान्वयन गर्न जोड्दार माग गर्दछौँ ।
यस्ता प्राकृतिक विपद्हरु तथा कृषि क्षेत्रलाई प्रभावित पार्ने विभिन्न समस्याहरु नियमित रुपमा आइरहने भएकोले त्यस्ता समस्याहरु पर्दा वास्तविक उत्पादक किसानहरुलाई सहज तथा सरल तरिकाले तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन हरेक वर्ष कम्तिमा ५ अरब रुपैयाँ बराबरको बजेट विनियोजन गरी ‘किसान राहत कोष (कृषि सहायता कोष)’ स्थापना र सञ्चालन गर्न हामी नेपाल सरकारसँग जोड्दार माग गर्दछौँ । साथै मौसम पूर्वानुमानका कार्यहरु र सूचना तथा जानकारीहरुलाई स्थानीय निकायहरुमार्फत किसानहरु र आम जनताको पहुँचमा पुराई प्राकृतिक विपद्हरु र तिनबाट उत्पन्न हुनसक्ने जोखिमबाट किसानहरु र आम नागरिकको जीउधन सुरक्षित हुने अवस्था सिर्जना गर्न पनि हामी नेपाल सरकारसँग जोड्दार माग गर्दछौँ ।

क्रान्तिकारी अभिवादनसहित ।
मितिः २०७८÷०७÷१२ ………………………………….
चित्रबहादुर श्रेष्ठ
अध्यक्ष

कमेन्ट गर्नुहोस्