प्रधानन्यायाधीश जबरालाई सर्वोच्च छिर्न नदिन सबै गेटमा धर्ना दिने बारको तयारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत प्रवेश गर्ने सबै बाटो बन्द गर्ने तयारी गरेको छ । जबराको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेको बारले गत शुक्रबार गेटमै धर्ना दिएर जबराको प्रवेश रोक्ने प्रयास गरेपनि उनी सर्वोच्चको अर्को गेटबाट भित्र प्रवेश गरेका थिए ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि जबरालाई सर्वोच्च प्रवेशमा निषेध गर्न धर्ना दिने बताए । ‘सकेसम्म सर्वोच्च अदालतभित्रै छिरेर गेटमा धर्ना दिन्छौं । गत शुक्रबारजस्तै प्रहरी खटाएर भित्र जान रोके भने बाहिरै धर्नालाई जारी राख्छौं,’ उनले भने । अदालत भवन र नेपाल बार एसोसिएसन भवनबीच सानो गेट छ । सर्वोच्च अदालत प्रवेश गर्न कानुन व्यवसायीले प्रयोग गर्ने उक्त गेटलाई शुक्रबार सर्वोच्च प्रशासनले बन्द गरिदिएको थियो ।

जसका कारण कानुन व्यवसायी सर्वोच्चमा छिर्न पाएनन् र उनीहरू मुख्य गेटमा पुगेर विरोध प्रदर्शन जारी राखे । बार अध्यक्ष श्रेष्ठले उक्त गेट खोल्न शुक्रबार नै सर्वोच्च प्रशासनलाई भनिसकेको र आइतबार पनि बन्द गरिए सडकबाटै मुख्य गेटमा धर्ना दिने बताए ।

सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेले पनि जबराको राजीनामा माग गर्दै बारले घोषणा गरेको कार्यक्रम यथावत् रहेको जनाएका छन् । उनले आइतबार बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने प्रवेशद्वारमै धर्ना दिइने बताए । नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । स

कमेन्ट गर्नुहोस्