बन्दका क्रममा दर्जनौं गिरफ्तार, काठमाडौंबाट युवा संगठन महासचिव विदुषी पक्राउ

पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तुमा सरकारले गरेको मुल्य बृद्धि विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा युवा संगठन नेपालका महासचिव विदुषीलाई काठमाडौँबाट गिरफ्तार गरेको छ । विदुषीसँगै कान्छा तामाङलाई पनि गिरफ्तार गरेको बताइएको । काठमाडौँबाट गिरफ्तार भएकाहरुलाई महाराजगञ्जमा राखिएको बताइएको छ । यसैबीच युवा संगठन नेपालका अध्यक्ष पाटन जंगलीले संगठनका महासचिव लगायत गिरफ्तार भएकाहरुलाई तत्काल रिहाइ गर्न माग गरेका छन् ।

यसैगरी पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यबृद्धि गरेपछि नेपाल बन्दको आयोजना गर्दै संघर्षमा होमिएको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्तालाई आज बिहानै प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले नेकपा कास्कीका जिल्ला सदस्य एवं कार्यलय सचिव काजी गुरुङ र अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजलाई छोरेपाटनबाट पक्राउ गरेको हो ।

बन्दलाई सफल बनाउनका लागि आज बिहानै नेकपाका कार्यकर्ताहरुले राजमार्गका मुख्य–मुख्य भागहरुदेखि सहरका चोक–चोकमा टायर बाल्ने तथा विरोध प्रदर्शन गरेका थिए । एका बिहानै नेकपाका कार्यकर्ताले छोरेपाटन, बागलुङ बसपार्क, नयाँ बजार, पृथ्वीचोक, नागढुङ्गा, तल्लो गगनगौंडा, रुपा गाउँपालिका र मादी गाउँपालिका लगायत कास्कीका विभिन्न ठाउँहरु विरोध प्रदर्शन गर्दै बन्द कार्यक्रम सफल गराउनका लागि खटिएको कास्की जिल्ला इञ्चार्ज उमा भूजेलले जानकारी दिए ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेपाल कम्युनिष्ट पार्टीका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन्।

आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका नेत्रविक्रम चन्द विप्लवनिकट सो पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।

ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्करलगायत पक्राउ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले बताए।

पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उनले माग गरे। बन्दका कारण दमौली बजार बिहानैदेखि सुनसान छ।

कमेन्ट गर्नुहोस्