मध्यराती गमगढी बजारमा भीषण आगलागी, २० घर जलेर नष्ट

मुगुको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी भएको छ।

आगलागीबाट २० घरटहरा जलेर नष्ट भएका छन्। थप आगो फैलन नदिन प्रहरीले एक घर भत्काउनुपरेको थियो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले गए राति करिब १२:३० मा आगलागी सुरू भएको र बिहान ४:३० मा मात्रै नियन्त्रणमा लिइएको सेतोपाटीलाई बताए।

‘स्थानीय ठिन्ले लामाको घरमा बालेर राखेको दियोबाट आगो फैलिएको अनुमान गरिएको छ,’ भट्टराईले भने, ‘प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा पानी र माटो प्रयोग गरेर चार घन्टापछि आगो नियन्त्रणमा लिइएको छ।’

आगलागीबाट घरबारबिहीन भएकाहरूलाई छिमेकीका घर र आफन्तकहाँ राखिएको छ। उनीहरूलाई राहत उपलब्ध गराउन आज बिहान जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक बसेको उनले बताए।

दमकल नहुँदा आगो निभाउन समय लागेको हो।

‘दमकल थिएन। स्थानीयको सहयोगमा प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाले पानी र माटोले आगो नियन्त्रणमा लिनुपर्दा समय लाग्यो। थप आगो फैलन नदिन एउटा घर प्रहरीले नै भत्काउनुपर्‍यो,’ भट्टराईले भने।

आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ। क्षतिको विवरण आइनसकेको भट्टराईले बताए। पसल भएका घरहरू पनि जलेकोले धेरै क्षति भएको अनुमान छ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन।

कमेन्ट गर्नुहोस्