मुलुकमा जनमुखी र बैज्ञानिक शिक्षाको खाचो छ: उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताए ।

चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्यक रहेकाले शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताए । “शिक्षामा आएका दरार हटाउँदै, समान शिक्षाका लागि आन्दोलन जरुरी छ, शिक्षा क्षेत्रमा विभेद हुनु हुँदैन, पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसमेत बढेर गएको छ, विद्यालय व्यवस्थापन समिति र विद्यालय मिलेर अगाडि बढे शैक्षिक क्षेत्रको रुपान्तरण सम्भव छ”, उनले भने । सामुदायिक विद्यालयलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

विश्व हिन्दू महासङ्घका केन्द्रीय अध्यक्ष एवं पूर्वमन्त्री रामचन्द्र अधिकारीले सामुदायिक विद्यालयको भौतिक सुधारसँगै प्राविधिक शिक्षाको सञ्चालनका लागि सुरुआत भएको महायज्ञलाई सफल बनाउन स्थानीय सरकारको मुख्य दायित्व रहेको बताए । पूर्वसांसद रुपा महर्जन, चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष गोपी सुर्खेतीले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि सबैको साथ र सहयोग रहेको उल्लेख गर्दै विद्यालयलाई प्रविधिमैत्री र गुणस्तरीय शैक्षिक वातावरण तयार गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्