काठमाडौं । दक्षिण अफ्रिका र बोत्सवाना देशमा शुरुमा देखिएको कोरोनाको नयाँ भेरिएन्ट साउदीमा पनि भेटिएको छ ।
साउदी प्रेस एजेन्सीले त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै लेखेको समाचार अनुसार, साउदीमा एक व्यक्तिमा ओमिक्रोन संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै साउदी अरब ओमिक्रोन भेरियन्ट पुष्टि गर्ने पहिलो खाडी राष्ट्र बनेको छ ।
उत्तरी अफ्रिकाबाट फर्किएका एक साउदी नागरिकमा संक्रमण पुष्टि भएको समाचारमा उल्लेख छ । तर उनी कुन मुलुकबाट फर्किएको भनेर समाचारमा केही खुलाइएको छैन । हाल संक्रमित व्यक्तिसहित उनको सम्पर्कमा आएका मानिसलाई आइसोलेशनमा राखिएको छ ।
त्यस्तै, स्वास्थ्य मन्त्रालयले मानिसलाई पूर्ण खोप लगाउन अपील गरेको छ भने यात्रुहरूलाई ‘सेल्फ आइसोलेशन’मा बस्न र परीक्षणसम्बन्धी नियम पालना गर्न भनेको छ ।
हालसम्म ओमिक्रोन भेरियन्ट दर्जनबढी मुलुकमा फैलिएको छ ।