हामीलाई इतिहासतिर हैन, जनतातिर फर्किने राष्ट्रवाद चाहिन्छ– प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनतातिर फर्किने र जनताको एकतालाई बलियो बनाउने राष्ट्रवादका पक्षमा लाग्न अपील गरेका छन् ।
राष्ट्रवादलाई बुझ्ने सवालमा दुईवटा आधारभूत विचारपद्धती रहेको बताउँदै अध्यक्ष प्रचण्डले इतिहासको सम्मान गर्दै वर्तमान र भविष्यतर्फ अघि बढनुपर्ने बताएका हुन ।

“राष्ट्रवादको व्याख्या गर्दा दुईटा आधारभूत कुरा छन् ।” अध्यक्षले भने, “एउटा राष्ट्रवाद भन्नेबित्तिकै अलि बढी इतिहासमा भएका सकारात्मक र गौरवपूर्ण कुरालाई आधार बनाएर अहिले पनि इतिहासमैं फर्किने राष्ट्रवाद, एउटा नेपालका सम्पूर्ण जनतालाई राष्ट्रवादको आधार मान्दै जनतातिर नै फर्किने राष्ट्रवाद ।”
राप्रपा नेपालको एकता महाधिवेशनमा राष्ट्रवादको सन्दर्भममा बोल्दै अध्यक्ष प्रचण्डले देशका सबै वर्ग, जाति र समुदायबीचको सुदृढ एकताले मात्रै राष्ट्रवाद बलियो हुनेमा जोड दिए

“हामी इतिहासप्रति गर्व गर्नुपर्दछ । नेपाल राष्ट्रको स्वाधिनता र सार्वभौमतालाई रक्षा राख्न भएका कुरामा गर्व गर्नुपर्छ ।” उनले भने, “तर आज युग फेरिएको छ । आज हामी २१ औं शताब्दीमा छौं । लोकतन्त्रको परिभाषा नयाँ ढंगबाट परिभाषित गरिएको छ । जनताको परिभाषा नयाँ ढंगले परिभाषित छ । त्यसकारण हामीले इतिहासमा गर्व गर्दैगर्दा वर्तमानलाई बिर्सिनु हुँदैन । र, वर्तमानको विश्लेषण गर्दा भविष्यतिर हाम्रो ध्यान जानैपर्छ । भविष्यमा आउने पींढिलाई हामीले कस्तो राष्ट्र बिरासतको रुपमा दिने हो भन्ने कुरामा सबै गम्भीर हुनैपर्दछ ।”

विचार र दर्शनको विविधता स्वभाविक हुने र त्यसको बहसले नै समाज रुपान्तरण हुँदै अ आएको बताउँदै अध्यक्षले रुपान्तरणका लागि पछाडि फर्किने बाटो होइन, अगाडि फर्किने विचार बोक्नुपर्नेमा जोड दिए । “विचारमा विविधता र मतभिन्नता हुनु स्वभाविक कुरा हो । मानव इतिहासको विकासक्रम हेर्दा इतिहासका बिभिन्न कालखण्डमा बिभिन्न विचार, संस्कृति, मतबीच गहन बहस हुँदै आएको छ र त्यसले नै समाजमा गति लिँदै आएको छ ।” उनले भने, “नेपाल पनि त्यसबाट अछुतो छैन । नेपालमा पनि अहिले बिभिन्न राजनीतिक दल, राजनीतिक दर्शन, मत मतान्तरबीचबाट सबैले नेपाली समाजलाई रुपान्तरणको प्रक्रियातर्फ अघि बढाउन खोजेका छौं । अगाडि बढाएर मात्रै समस्याको हल गर्न सकिन्छ, पछाडि फर्केर हुन्न ।”

शान्ति सम्झौतामा आइसकेपछि जहिल्यै पनि नयाँ राष्ट्रिय एकताको कुरा, तराई, पहाड हिमालको एकताको कुरा गर्दै आएको उनको भनाई थियो । “राजनीतिक प्रणालीको विवादबीच पनि त्यसलाई लोकतान्त्रिक पद्धतीबाट समाधान गर्ने र राष्ट्रिय एकताका लागि सबै एकजुट हुनुपर्ने कुराको मैले अपील गर्दै आएको छु । संविधान घोषणा भइसकेपछि पनि देशको राष्ट्रिय एकता के हुने हो भन्ने चिन्ता सबैलाई थियो । तराई मधेशमा आन्दोलनको वातावरण थियो । तराई मधेसका जनतालाई कसरी सम्बोधन गर्ने र राष्ट्रिय एकतालाई अक्षण्य मात्र हैन सुदुढ गर्ने भन्ने गम्भीर चुनौती हाम्रा सामु थियो । त्यतिबेला दोश्रोपटक प्रधानमन्त्रीको हैसियतले देशमा निर्वाचन गर्नुपर्ने दायित्व पुरा गरेको उनले स्मरण गराए ।

सदनमा दुईपटक संविधान संशोधनको प्रस्ताव र मधेसकेन्द्रीत दलसँग वार्ता र संवाद गरेर, धेरै मेहनत गरेर देशमा राष्ट्रिय एकताको वातावरण बनाउने, लोकतान्त्रिक निर्वाचनको वातारण बनाउने कोशीस गरेको उनले बताए ।

कमेन्ट गर्नुहोस्