सुपरिचित नायिका रेखा थापा पनि राप्रपाको चुनावी मैदानमा

काठमाडौं । सुपरिचित नायिका रेखा थापा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा चुनावी मैदानमा उत्रिएकी छन् । यसअघि सहमहामन्त्री रहेकी नायिका थापा राजधानीमा जारी राप्रपाको एकता महाधिवेशनमा सांसद राजेन्द्र लिङ्देनको प्यानलबाट महिलातर्फ महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

“परिवर्तनको पक्षमा राप्रपा ः राप्रपामा अब नयाँ नेतृत्व” भन्ने मूल नाराका साथ अगाडि बढेको लिङ्देन पक्षबाट नायिका तथा नेतृ थापाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । रेखा काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी हुन् । राप्रपाका एकमात्र निर्वाचित सांसद लिङ्देनले भने गत बिहीबार नै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए ।

नायिका थापा यसअघि अध्यक्ष पशुपति शमशेर राणाको निकट मानिन्थिन् । यसपटक राणा भने अध्यक्षमा नउठ्ने भएका छन् । हाल तीन अध्यक्ष रहेको राप्रपामा महाधिवेशनले एकल अध्यक्ष स्थापित गर्ने भएकाले यसलाई महत्वका साथ हेरिएको छ । उता, हालका तीनमध्ये एक अध्यक्ष कमल थापाले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले भने चुनाव नलड्ने घोषणा गरेका छन् ।

पार्टीको विधानमा एक महिलासहित ४ उपाध्यक्ष र एक महिलासहित ३ महामन्त्री महाधिवेशनले निर्वाचित गर्नेछ । रेखा महिला महामन्त्रीमा उठ्न लागेकी हुन् । लिङ्देनको प्यानलबाटै एक महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा भइसकेको छ ।

कमेन्ट गर्नुहोस्