स्पेनबाट फर्केलगत्तै न्यायालयको विवादबारे सभामुख सापकोटाले दिए प्रतिक्रिया

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले न्यायालयमा देखिएको समस्या समाधानका लागि नयाँ धारणा बनाएर अघि बढ्ने बताउनुभएको छ ।

अन्तर व्यवस्थापिका संघ (आईपीयू) कोसम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्कने क्रममा सभामुख सापकोटाले न्यायालयमा देखिएको समस्या समाधानका लागि नयाँ धारणा बनाएर अघि बढ्ने बताउनुभयो ।

उहाँले सम्मेलनमा राष्ट्रिय राजनीतिको विषयमा सामान्य जानकार रहेको बताउँदै अब संसद र न्यायपालिकाको समस्या समाधान गर्नका लागि सर्वदलीय बैठक बोलाएर उपाय खोज्ने बताउनुभयो ।

सभामुख सापकोटाले नेपाल र विश्वमा नै अहिलेको चुनौती सबैलाई समेटेर लैजानुपर्ने कुरा रहेको बताउनुभयो । उहाँले आदिवासी, जनजाती, सिमान्तकृत जनसमुदाय लोकतन्त्रमा विभाजित हुनुलाई न्याय प्रणाली कमजोर हुनुको संज्ञा दिनुभयो ।

सभामुख सापकोटाले सम्मेलनमा प्रविधि र सञ्चारको विकास राम्रो भए पनि कहिलेकाहिँ तथ्यहीन प्रचारका कारण राजनीतिक पार्टीहरूप्रति विश्वास कमजोर बन्दै गएको र पार्टीका आन्तरिक लोकतान्त्रिक अभ्यास गर्ने कुरामा कमजोरी रहेको लागयतका विषयमा छलफल भएको बताउनुभयो ।

अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा मंसिर ८ गते स्पेनको म्याड्रिड जानुभएको थियो ।

कमेन्ट गर्नुहोस्