दर्जन बढी युवाहरु माओवादी केन्द्र प्रवेश, १० लाख पार्टी सदस्यता पुर्‍याउने प्रचण्डको उदघोष

काठमाडौं । बिभिन्न पार्टी परित्याग गरी दुई दर्जनबढी युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नव प्रवेसीहरुलाई आज एक समारोहबीच अध्यक्ष प्रचण्डले टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्षले नेकपा माओवादी केन्द्रको सदस्यता नवीकरण कार्य रोकिएको भएपनि छिटै नै १० लाख पार्टी सदस्य बनाउने बताए ।

गत महिनाको २५ गतेसम्म नेकपा माओवादी केन्द्रका ८ लाख सदस्यहरुले सदस्यता नवीकरण गरिसकेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका हुन् । उनले माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयासमा लागिएको भन्दै माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन बच्ने बताए ।

अध्यक्ष दाहालले बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनालीले राजा महेन्द्रको प्रशंसा गरेकोप्रति लक्षित गर्दै नाम कम्युनिष्ट भए पनि काम सामन्तीको भएको बताए । उनले नेपालमा परिवर्तनको रक्षाको लागि मात्रै नभइ, राष्ट्र, राष्ट्रिय एकता, उत्पीडित वर्ग र समुदायको हक, अधिकारलाई पूर्णता दिनको लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको दाबी गरे ।

उनले माओवादी केन्द्रलाई जनताले आफ्नो लागि काम गर्ने पार्टीका रुपमा हेरेको र पार्टीप्रति जनताको आत्मविश्वास बढ्दै गएको बताए । अध्यक्ष दाहालले अहिले राष्ट्रका एजेण्डा भनेको माओवादीकै एजेण्डा भएको बताउँदै केही समय काठमाडौं केन्द्रीत भएर नेताहरुको काम गर्दा घाइते, अपांग र शहीदहरुप्रतिका एजेण्डा बिर्सिएर गल्ती गरेको भन्दै अब गल्ती नदोहिरिने प्रतिबद्धता गरे ।

कमेन्ट गर्नुहोस्