पहिला श्रीमतीको घाँटी कसेर हत्या अनि मृत फेला परेको भनेर प्रहरीलाई फोन

ललितपुरको कुपण्डोलमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

रामेछाप मन्थली नगरपालिका वडा नम्बर १२ गेलु घर भई ललितपुर महानगरपालिका वडा नम्बर १० कुपण्डोलमा डेराकोठा गरी बस्ने ३५ वर्षीय जानुका भुजेलको हत्या भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।

invotech
हत्या आरोपमा प्रहरीले उनका ३५ वर्षीय श्रीमान एक्काराज भुजेललाई पक्राउ गरेको छ।

जानुका गत बिहीबार दिउँसो कोठामा मृत फेला परेकी थिइन्।

शव फेला परेको सूचनापछि प्रहरीको टोली खटिएको थियो। सूचना श्रीमान एक्काराज आफैंले प्रहरीलाई दिएका थिए।

‘घटना भएपछि श्रीमानले नै श्रीमती मृत अवस्थामा फेला परेको भन्दै खबर गरे। खाटमा सुतिरहेको अवस्थामा फेला परेको भनिएको थियो,’ प्रहरी उपरीक्षक महर्जनले भने, ‘त्यसपछि हामी अनुसन्धान गर्न पुग्यौं।’

घटनास्थल पुग्दा प्रहरीलाई शंकास्पद लागेको थियो। त्यसपछि सुरूमा श्रीमान आफैं नै प्रहरीको शंकाको घेरामा रहेका थिए।

मुचुल्का उठाएपछि प्रहरीले शव पोष्टमार्टमको लागि ललितपुरको पाटन अस्पतालमा पठाएको थियो। त्यसको रिपोर्ट र प्रविधिगत विश्लेषणले श्रीमान एक्काराजले नै हत्या गरेको देखिएको प्रहरी उपरीक्षक महर्जनले बताए।

‘सुरूमा घटना स्वीकार गर्न मानेका थिएनन्। तर पछि स्वीकारे,’ उनले भने।

उनका अनुसार जानुकाको घाँटी कसेर हत्या भएको हो। उनीहरू सामान्य मजदूरी गर्थे। दुई छोरा र एक छोरी पनि छन्।

प्राय: उनीहरूबीच झगडा हुने गरेको प्रहरी उपरीक्षक महर्जनले बताए। त्यसदिन पनि उनीहरूबीच झगडा भएको थियो।

त्यसैक्रममा जानुकाले हात उठाएपछि एक्काराजले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो। उनीमाथि कर्तव्य ज्यान मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जनाएको छ।
सेताेपाटीबाट

कमेन्ट गर्नुहोस्