भारतमा १२ घन्टाको अवधिमा दुई नेताको हत्या, सोमबारसम्म निषेधाज्ञा लागू

केरला : भारतीय कम्युनिष्ट पार्टीको सरकार रहेको केरला राज्यमा १२ घन्टाको अवधिमा दुइजना नेताको हत्या भएको छ ।

हत्याको कारण अझै नखुलेपनि दुबै नेताको हत्याले अवस्था तनावग्रस्त बनेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अलप्पुझामा आइतबार भारतीय जनता पार्टी (भाजपा) नेता रंजीत श्रीनिवासको हत्या भएको हो। उनी भाजपा ओबीसी मोर्चाका सचिव हुन्।

आइतबार बिहान घरमा अज्ञात व्यक्ति प्रवेश गरी उनको हत्या गरेको भारतीय मिडियाले जनाएका छन्।

यसअघि शनिबार राती सोशल डेमोक्रेटिक पार्टी अफ इन्डिया (एसडीपीआइ) का नेता केएस शानको हत्या भएको थियो। घटनामा घाइते भएका शानलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो। मोटरसाइकलमा घर जाँदै गरेका शानमाथि अज्ञात समूहले आक्रमण गरेको थियो।

एसडीपीआइ नेताको हत्यापछि, पार्टी अध्यक्ष एमके फैजीले यस मामिलामा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) संलग्न भएको आरोप लगाएका छन्।

दुई नेताको हत्यालगत्तै अलाप्पुझा जिल्लामा फौजदारी कानुनको खण्ड १४४ अन्तर्गत सोमबारसम्म निषेधाज्ञा लागू गरिएको छ । केरलका मुख्यमन्त्री पिनराई विजयनले हत्याको निन्दा गर्दै संलग्नलाई कडा कारबाही गरिने बताएका छन्।

कमेन्ट गर्नुहोस्