काठमाडौं । नेकपा माओवादीले संविधानले निर्दिष्ट गरेको समावेशी समानुपातिक सहभागितालाई पार्टीका सबै संगठनमा सुनिश्चित गर्ने अभ्यास गरेको छ ।
योसँगै आसन्न राष्ट्रिय सम्मेलनपछि माओवादीको केन्द्रीय समिति समेत पूर्ण समावेशी बन्ने छ ।
यसअघि वडा, नगर र प्रदेश समितिहरुमा पूर्ण समावेशी समानुपातिक प्रतिनिधित्वको अभ्यास भइसकेको छ । यसका लागि माओवादीले महिला, दलित, युवा, खुला, मस्लिमलगायतका विशेष समुदायको प्रतिनिधित्वको समावेशी क्लष्टरका आधारमा सबै समितिले अनिवार्य निर्वाचित गर्नैपर्ने निर्देशन जारी गरेको थियो ।
कुनै अमुक क्लष्टरमा कोही सदस्य नभएको अवस्थामा समेत अन्य क्लष्टरबाट त्यसको पूर्ति नगरी खाली राख्ने र पछि पदपूर्ति गर्ने माओवादीले निर्देशन दिएको थियो ।
हाल माओवादीको केन्द्रीय समिति १७९ जनाको रहेको छ ।
सम्मेलनपछि भने यो २९९ जनाको हुनेछ ।
२९९ जनाको केन्द्रीय समितिमा अनिवार्यरुपमा ३५ प्रतिशत महिला सहभागिता हुनेछ । यसरी अब बन्ने केन्द्रीय समितिमा ६७ जना महिला रहनेछन् । यसैगरी ४५ जना दलित केन्द्रीय सदस्य हुनेछन् । दलित भित्र पनि दलित महिला, दलित युवा महिला, दलित युवा र दलित खुलाको क्ष्टर विभाजन गरिएको छ ।
योसँगै संविधानमा उल्लेखित सबैतहमा समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गर्ने पहिलो पार्टी नेकपा माओवादी केन्द्र बन्नेछ ।