राष्ट्रिय सम्मेलनको प्रचण्ड उत्साहः क्रान्तिकारी विचारको प्रतिक्षामा माओवादी समर्थक

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन भोलीबाट शुरु हुँदैछ ।

राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रले करिब करिब तयारी पुरा गरिसकेको छ । साढे १५ सयको हाराहारीमा देशैभरीबाट प्रतिनिधिहरु छनौट भइसकेका छन् भने केन्द्रीय कार्यालयले मनोनित गर्ने केही संख्याबारे स्थायी समितिले सम्भवतः आज नै निर्णय गर्नेछ ।

राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा हुने सम्मेलनमा सहभागी हुन देशैभरीका प्रतिनिधि, शुभेच्छुक र समर्थकहरु राजधानी ओइरिने क्रम जारी रहेको छ ।

यसपटकको राष्ट्रिय सम्मेलनलाई माओवादी केन्द्रमा विशेष अर्थमा लिइएको छ । शान्ति प्रक्रियापछि विचारको संश्लेषण गर्दै नयाँ वैचारिक कार्यदिशा निर्माण गर्न नसकेको माओवादीले यसपटक भने समाजवादी क्रान्तिको तयारीका लागि ठोस कार्यदिशा निर्माण गर्ने अधिकांशको अपेक्षा देखिन्छ ।
गत साउनमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्न नसक्ने हो भने माओवादी विघटन हुने बताएसँगै पार्टीभित्र नयाँ विचार र संगठनका पक्षमा माहौल बनेको हो ।

पछिल्ला कतिपय सम्बोधनहरुमा अध्यक्ष प्रचण्डले अबको कार्यदिशा समाजवादी क्रान्तिको तयारीका लागि हुने र त्यसका लागि पार्टीभित्र क्रान्तिकरण अनिवार्य रहेको बताउँदै आएका छन् ।

अध्यक्ष प्रचण्डले सम्मेलनका लागि राजनीतिक प्रतिवेदन लेखन गरिसकेका छन् । हिजो सम्पन्न भएको स्थायी समिति बैठकमा प्रतिवेदन प्रस्तुत गरेका थिए । एकजना स्थायी समिति सदस्यका अनुसार, प्रचण्डको प्रतिवेदनले मूलतः वर्तमान विश्वको अन्तरविरोधको व्याख्या गर्दै वित्तिय एकाधिकारवादी पूँजिवादसँग तेश्रो विश्वका जनताको र नेपालको सन्दर्भममा दलाल पूँजिवादसँग प्रधान अन्तरविरोध रहेकोले संघर्षको कार्यनीति पनि सोही अनुरुप विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

क्रान्तिकारी शक्तिहरुको ध्रुवीकरणमार्फत शान्तिपूर्ण तवरले राष्ट्रिय पूँजिको विकास गर्दै समाजवादी क्रान्तितर्फ अघि बढन सकिने उनको निश्कर्ष छ । तर त्यसका लागि क्रान्तिकारी कार्यदिशा अन्तर्गत क्रान्तिकारी चरित्रको पार्टी अनिवार्य हुने प्रचण्डको ठम्याइ छ ।

राष्ट्रिय सम्मेलनमा विचारको विकासका लागि घनिभूत छलफल हुने संकेत सम्मेलन ३ दिनबाट ५ दिनसम्म लम्ब्याइएकोबाट समेत देखिएको छ । सम्मेलनमा नयाँ नेतृत्वका लागि खासै हानथाप हुने अवस्था भने देखिदैन । माओवादी केन्द्रभित्र प्रचण्डको विकल्पको पक्षमा कोही पनि देखिँदैनन् । यद्यपी महासचिव र अन्य पदाधिकारीमा भने कतिपयले आकांक्षा देखाएका छन् । तर प्रचण्डले भने गुट या समूहगत भावना झल्किने कुनै पनि समीकरण या अभ्यासलाई सम्मेलनमा स्थान दिने देखिँदैन ।

माओवादीको राष्ट्रिय सम्मेलनले समावेशी समानुपातिक प्रणालीको पूर्ण अवलम्बन गर्दै २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने देखिन्छ । प्रदेश र तल्ला तहमा देखिएका गुटवादलाई अन्त्य गर्ने महत्वपूर्ण प्रयास सम्मेलनमा हुने देखिन्छ ।

कमेन्ट गर्नुहोस्