आज प्रचण्डको प्रतिवेदनमा २५ समूहमा छलफल हुने

काठमाडौं । नेकपा ९माओवादी केन्द्र० को जारी आठौं महाधिवेशनमा आजबाट अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ । यसको लागि महाधिवेशन प्रतिनिधिलाई २५ समुहमा विभाजन गरिएको छ । प्रदेश अनुसार विभाजन गरिएका यी समुहको छलफल प्रज्ञा भवनका विभिन्न हल एवं पार्टी मुख्यालय पेरिस डाँडामा हुनेछ ।

माओवादी महाधिवेशनको दोस्रो दिन हिजो दाहालले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको ४५ पृष्ठको वैचारिक एवं राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

अध्यक्षको प्रतिवेदनमा जनयुद्द र शान्ति प्रक्रियाका विशेष कालखण्डका घटनाहरुको समीक्षा गरिनुका साथै नेपाली समाजको क्रान्तिको कार्यदिशा प्रस्तुत गरिएको छ ।

केन्द्रीय समितिको चुनवाङ बैठकबाट सामान्य सैद्धान्तिक र राजनीतिक दिशाबोध गरिएको भए पनि शान्ति सम्झौतामा हस्ताक्षर गर्ने र जनमुक्ति सेनालाई क्यान्टोन्मेन्टमा राख्ने अत्यन्त संवेदनशील विषयमा पार्टीमा खुलस्त छलफल नभएको दाहालको निष्कर्ष छ । ‘पार्टीका नीति, योजना, कार्यक्रमबारे समेत साझा धारणा बनाएर शान्ति सम्झौतामा हस्ताक्षर गर्नुपर्दथ्यो,’ प्रतिवेदनमा उल्लेख छ, ‘वस्तुगत रूपमा सही भए पनि नेतृत्वको यो निर्णय प्रक्रियाले पार्टीभित्र आशंका बीजारोपण भयो । यसमा अध्यक्ष प्रचण्डको मनोगत र पार्टीको जनवादी केन्द्रीयता अतिक्रमण गर्ने आत्मविश्वास हावी भयो । कमजोरी त्यही नै हो ।’

शान्ति प्रक्रियापछि माओवादीले संविधानसभाबाट संविधान निर्माण भन्दै आए पनि पालुङटार प्लेनमबाट विद्रोहका नीति लिएपछि पार्टी नीति अन्योलमा परेको थियो ।

तत्कालीन उपाध्यक्ष बाबुराम भट्टराईले संविधान निर्माण प्रमुख कार्यदिशा बनाउनुपर्ने भन्दै फरक मत राखेका थिए । तर अर्का उपाध्यक्ष मोहन वैद्यको समर्थनमा दाहालले विद्रोहको नीति पास गराए पनि त्यो असफल भएको थियो । घोषित विद्रोह हुन नसकेको र धोकापूर्ण रूपमा सेना समायोजन गरेको भन्दै वैद्यको नेतृत्वमा पार्टी विभाजन भएको थियो ।

‘मुखमा संविधान निर्माण मनमा विद्रोह’ को नीति लिँदा शान्ति प्रक्रिया, संविधान निर्माण र स्वयं पार्टीलाई पनि क्षति भएको दाहालको मूल्यांकन छ । दोहोरो नीतिले प्रगतिशील संविधान निर्माणमा असर पुगेको र पार्टी विभाजन भएको उनले बताएका छन् । ‘विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर जनमुक्ति सेना र हतियारलाई संयुक्त राष्ट्रसंघीय मिसनको अवलोकनमा क्यान्टोन्मेन्टमा लगिसकेपछि विद्रोह र संविधान निर्माण दुवै कुरा एकैचोटि गरिरहनुले पार्टीमा ठूलो विचारधारात्मक अन्योल सिजना गर्‍यो,’ बन्दसत्रमा दस्ताबेज पढ्दै दाहालले भने, ‘अझ कतिपय सन्दर्भमा मुखले संविधानका कुरा, मनले विद्रोहका कुरा गर्ने भन्ने अत्यन्त अपारदर्शी र अवस्तुवादी काम भयो । शान्ति सम्झौता गरेर सेना र हतियारलाई क्यान्टोन्मेन्टमा राखिसकेपछि विद्रोह हुन सक्दैनथ्यो । विद्रोह हुने कुरै थिएन । बरु संविधानसभाबाट अधिकतम प्रगतिशील संविधान निर्माणमा ठूलो क्षति हुन पुग्यो ।’

कमेन्ट गर्नुहोस्