नेपालमा डलर खाता खोल्न अर्थमन्त्री शर्माको एनआरएनहरूलाई आग्रह

काठमाडौँ । अर्थ मन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीहरुलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफै लाभान्वित हुन आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए ) युके, अमेरिका, अष्ट्रेलियालगायतका एनसीसीहरुद्वारा सोमबार आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै मन्त्री शर्माले एनआरएनहरुले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने बताए । ‘तपाईंहरुले थोरै सेवा गर्दिनोस्, मेवा पनि प्राप्त हुन्छ, तपाईहरुलाई पनि फाइदा पुग्ने छ ।’
अर्थ मन्त्री शर्माले सरकारले वैदेशिक लगानीको वातावरण सहज बनाइरहेको बताए । नेपाललाई अल्प विकसित मुलुकबाट स्तरोन्नति गर्न वर्षेनी अर्बाै डलर लगानी आवश्यक पर्ने र त्यसको लागि लगानीकर्ताहरुलाई सेवा सुविधा दिनुपर्ने अवश्यकता रहेको उनले बताए ।नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले छोटो समयमै यो नियम ल्याइएको बताए । उनले यस अघि रहेको १०,०० डलरलाई घटाएर ५,००० डलर पुराएको र २ वर्षलाई घटाएर १ वर्ष गरेको बताए । केही बैंकहरुले विदेशी मुद्रामा खाता खोल्न शुरु गरिसकेको र यो प्रावधान विदेशमा हुर्की रहेको दोश्रो पुस्तलाई नेपालसंग जोड्ने माध्यम बन्ने आशा पनि व्यक्त गरे । उनले कार्यान्वयनका क्रममा केही समस्या आएमा त्यसलाई तत्काल सम्बोधन गरिने बताए ।
अर्थ सचिव मधु मरासिनीले यस भन्दा पहिला पनि डलरमा खाता खोल्न पाइन्थ्यो, तर यस पटक सरकारले त्यसलाई सहजीकरण गरेको बताए । “तपाई जहाँ हुनु हुन्छ त्यहिँ बाट खाता खोल्न पाइन्छ, , फिर्ता लग्न पनि पाइन्छ । पैसासंग भावना र माया पनि जोडिन्छ । तपाईंहरुले आर्जन गरेको ज्ञान, सीप, क्षमता मातृभूमिको हितमा लगाउन पनि वातावरण निर्माण गर्छ भन्ने हाम्रो अपेक्षा छ । हाम्रो सम्बन्ध जीवन्त राख्छ, सम्बन्धको सेतुको रुपमा काम गर्छ भन्ने अपेक्षा रहेको बताए । यसरी जम्मा भएको रकमले नेपालमै रोजगारी सिर्जना गर्न मदत पुग्ने, स्वदेशी उत्पादनका लागि लगानी बढाउन उपयोग गर्ने हाम्रो ध्येय छ । देशलाई माया गर्दा बचत सुरक्षित हुने भएकाले व्यापक सहभागिताको लागि अनुरोध गरे । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल सरकारले ल्याएको नयाँ सुविधाका लागि सरकारलाई धन्यवाद दिंदै यसले संसार भरिरहेका नेपालीहरुलाई नेपालमा खाता खोलेर आफुसंग रहेको बचत नेपाल भित्र्याउन सहज हुने विश्वास व्यक्त गरे । उनले संघले स्थापना कालदेखि नै नेपालको समृद्धि र विकासको लागि साझेदारको रुपमा काम गर्दै आएको स्मरण गरे ।

कमेन्ट गर्नुहोस्