बतास समूह र निवर्तमान निर्देशकमाथि कार्वाही गर्न अख्तियार र प्रहरीलाई मन्त्रालयले लेख्याे पत्र

काठमाडौँ — नारायणहिटी संग्रहालयका निवर्तमान कार्यकारी निर्देशकसहित संलग्नहरुलाई सार्वजनिक सम्पदा विरुद्धको कसुरमा कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ । मन्त्रालयका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार, नारायणहिटी दरबार संग्रहालय परिसरमा क्यान्टिन/क्याफ्टेरिया संचालनसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदनसहित मन्त्रालयले निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहाल र बतास समूहको बी म्यानेजेन्टका संचालकलाई मुलुकी अपराध संहिता २०७४ को दफा १४७ अनुसार कारबाहीका लागि लेखी पठाएको हो । यस संहिताले राष्ट्रिय तथा सार्वजनिक सम्पदा पूर्वस्वीकृतीबिना अतिक्रमण, भोगचलन गर्न नपाइने भनेको छ । यो कसुर प्रमाणित भएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने भनेको छ ।
मन्त्रालयले प्रहरीलाई निवर्तमान कार्यकारी निर्देशक दाहालले ‘सार्वजनिक सम्पत्तिको संरक्षण संवर्द्धन गर्न नसकेकाले’ कारबाही गर्न पत्र लेखेको मन्त्रालयका एक उपसचिवले बताएकाे कान्तिपुर अनलाइनमा उल्लेख छ । उनका अनुसार, उक्त पत्रमा दाहालले सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नसकेको, बी म्यानेजमेन्टले गरेको अतिक्रमण रोक्न नसकेको उल्लेख गरिएको छ । यस्लाई भ्रष्टाचारजन्य क्रियाकलाप भएकाले आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि लेखी पठाइएको कान्तिपुर अनलाइनले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्