नोबेल मेडिकल कलेजका विद्यार्थीद्वारा सञ्चालक शर्माको पुत्ला दहन

काठमाडौं । नोबल मेडिकल कलेजका विद्यार्थीले सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरेका छन् । शुल्कसम्बन्धी विषयमा आन्दोलनरत रहेका विद्यार्थीहरुले आज बिराटनगरको हाट चोकबाट पुत्लासहित नाराबाजी गर्दै मेडिकल कलेजको परिसरमा पुत्ला दहन गरेका हुन ।

नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क नबुझाए कक्षामा बस्न नदिने बताएपछि दुई हप्तादेखि विद्यार्थीहरु आन्दोलनमा छन् । विद्यार्थीको आन्दोलनमा स्थानीय विद्यार्थी संगठनका साथै चिकित्सा शिक्षा संघर्ष समितिले समेत साथ दिएको छ ।

कतिपय मेडिकल कलेजले शिक्षा आयोगबाट निर्धारित रकम भन्दा बढी शुल्क लिँदै आएका छन् । नोबेल कलेजले समेत चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७÷०७८ का लागि निर्धारण गरेको शुल्कभन्दा करिब पाँच लाख रुपैयाँ बढी रकम असुल्न खोजेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रेका थिए । एमबीबीएसमा भर्ना भएका तर अतिरिक्त शुल्क नबुझाएका विद्यार्थीको पठनपाठन सो कलेजले रोकेको छ । कलेजमा भर्ना भएका ९६ जना विद्यार्थीमध्ये नौ जना भारतीय, १० जना छात्रवृत्तिका र पाँच जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई छुट्टै कक्षाकोठामा राखेर पढाउन थालिएको छ । शिक्षा आयोगले तोकेको शुल्क बुझाउँदा पनि अन्य विद्यार्थी भने पढ्नबाट बञ्चित गरिएका छन् ।

कमेन्ट गर्नुहोस्