चाडपर्वहरुले एकता र भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका छन्– प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिभिन्न सांस्कृतिक चाडपर्वहरु सामाजिक एकताको मुख्य आधारस्तम्भ रहेको बताएका छन् ।

माघी पर्वका अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले कोरोना संक्रमणको जोखिम रहेको बेला रोकथामका उपाय अपनाएर चाडपर्व मनाउन समेत सबैमा अपील गरेका छन् ।

पढ्नुस शुभकामनाको पूर्ण पाठ

थारु समुदायको माघी तथा मगर र अन्य समुदायको माघे संक्रान्ति ९मकर संक्रान्ति० पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धिका साथै सुस्वास्थ्य र दीर्घायूको कामना गर्दछु । नेपाल भौगोलिक एवं सांस्कृतिक विविधताले भरिएको मुलुक हो । हाम्रो आफ्नो मौलिक परम्परा र संस्कृति अनुरुप एउटै पर्वलाई पनि भिन्नभिन्न भूगोल र समुदायमा मनाउने प्रचलन रहेको छ । यसलाई नेपाली समाजमा सांस्कृतिक सहिष्णुताको राम्रो उदाहरणका रुपमा लिन सकिन्छ ।
यी चाडपर्वहरुले नयाँ उमङ्ग र उत्साहका साथ एकआपसमा एकता र भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका पनि छन् । नेपाली समाज, राष्ट्रिय एकता र अखण्डताको जग बलियो बनाउन पनि यस्ता सांस्कृतिक पर्वहरुलाई आधार स्तम्भका रुपमा लिन सकिन्छ । विभिन्न समुदायका आफ्ना मौलिक पर्वहरु एकातिर नेपाली समाजको एकताको प्रतिकका रुपमा उभिएका छन् भने अर्कोतिर सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने कारक तत्व पनि हुन् ।
विश्वभर पुनः फैलिएको कोरोना भाइरसको महामारीका कारण हामीले आफ्ना पर्वहरुलाई उत्सवका रुपमा मनाउन सकिरहेका छैनौं । यस महामारीबाट आफू र आफ्नो समाजलाई सुरक्षित गर्न र स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गरी चाडपर्व मनाउन सबैमा अपील गर्दै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः एकपटक सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

कमेन्ट गर्नुहोस्