माघ्या सकराटी, माघे संक्रान्ती, मिनाम सारल्हेसबारे केही कुरा

रबिन मगर

बहुजाति, भाषा, धर्म र संस्कृतिले संमृद्ध देश नेपालको एक प्रमुख जाति हो – आदिवासी  मगर । बि. स. २०६८ को जगणना अनुसार जनसंख्याको आधारमा मगर तेस्रो ठुलो समुदाय हो भने सम्पूर्ण आदिवासी जनजातीहरु मध्ये अत्यधिक जनसंख्याले प्रथम स्थानमा रहेको छ । मगरहरु स्वभावैले सरल, सोझा र सहिष्णु हुन्छन् । वर्तमान परिवेशमा मगरहरुले वर्षैभरि सबै चाडपर्व उत्तिकै उल्लास र हर्षले मनाउने गरेता पनि माघेसंक्रान्ति मगरहरुको प्रमुख सांस्कृतिक चाड हो । देशैभरी  पैmलिएर रहेका आदिवासी मगरहरुले ठाउँ, परिवेश अनुसार यस पर्वलाई थोरै फरक–फरक तरिकाले मनाउने गरेको भेटिन्छ । यस लेखमा मगरहरुले मनाउने यहि पर्व सारल्हेस अर्थात माघे संक्रान्तिको बारेमा चर्चा गर्ने कोशिस गरिएको छ ।

सारल्हेस

                     ले‍खक: रविन मगर

आदिवासी मंगोलियन समुदायको सबै भाषाहरुमा ‘ल्हेस-ल्हो  को अर्थ वर्ष भन्ने हुन्छ । त्यसैगरी मगर मातृभाषामा सारल्हेसको अर्थ नयाँ वर्ष हो । विश्वमा प्रचलित केहि मितिहरु कुनै व्यक्ति विशेषसँग संबन्धित छन् । तर नेपालका मगर, गुरुङ, तामाङ, शेर्पा लगायतका समुदायको नयाँ वर्ष मौसमसँग संबन्धित छन् । माघ महिना शुरु भएपछि घाम अलिक न्यानो हुन थाल्दछ, हिउँ पग्लन्छ, पात झरेर नाङ्गो बनेका डालीहरुमा मुना पलाउने संभावना बढ्दछ । उराठलाग्दो कष्टकर हिउँद सकिएको र अर्को मौसम शुरुवात भएको आभाषमा हाम्रा पुर्खाहरुले हर्षित भएर खुशियाली मनाउन थाले ।

दिन महिना हुँदै वर्खा अनि हिउँद सकिएपछि फेरी अर्को वर्ष शुरु हुन सुरसार गर्दा पुर्खाहरुले यसलाई नयाँ वर्ष भनेर मनाउन थाले । त्यसैले माघे संक्रान्तिलाई मगरहरु ‘सारल्हेस’ भनी मनाउछन् । यस चाडमै बिहेबारी भएको वर्षमा छोरीचेलीले माईतीलाई खुवाउने चलन छ । यस समयमा माईती र मावलीलाई पुग्ने कोशेली ल्याउनु पर्दछ । माईतीले पनि चेलीलाई घाटा नपर्नेगरी निकह्रा(दक्षिणा) दिई बिदा गरिन्छ । यसै चाडमा गाउँघरमा नयाँ बाली लिने–दिने या बालीहरु थैली(बन्दकी) तथा कुट(ठेक्का)मा दिएको भए यस समयमा मात्र फिर्ता तथा घटबढ गर्न पाइने चलन रहेको छ । थैली फिर्ता गर्दा धनी थोरै कोशेली लिएर बारी कमाउनेकोमा जाने र थैली या कुट घटबढ  गर्नुपर्दा कमाउनेवाला बारी धनीकोमा थोरै कोशेली लिएर जानुपर्छ ।

तारो हान्ने

हाम्रा पुर्खाहरुले बाँच्नका लागि जंगली जनावरको शिकार गर्ने गर्दथे । बाँस या निगालोबाट बनेको धनुषमा तिखो काँडतिर राखेर प्रहार गरिने यो एउटा महत्वपूर्ण जिवनकला नै थियो । जसलाई तारो हान्ने भनिन्छ । यस चाडको अर्को विशेषता तारो हान्ने खेल पनि हो । यस खेलमा निश्चित ठाउँमा निसाना जसले राम्रो लगाउँछ उ नै बिजयी हुन्छ अनि फुलपाती लगाएर   सम्मान गर्ने गरिन्छ । यस्तै खेलहरुले गर्दा बिभिन्न ठाउँहरुमा मेलाहरु लाग्दछन् ।

पिण्ड दिने

मगरहरु परम्परागत रुपमा विशेष देवी–देवता पुज्दैनन् । आदिकालदेखि यहि  आदिभुमिमा हिमालको चिसो सिरेटो–आँधिबेहरीसँग जुध्दै, उच्छ्याटलाग्दो उकाली–ओराली गर्दै जमिन खोस्रिएर आफ्नो अस्थित्व कायम गर्न सफल मगरहरु यिनै हिमाल, पहाड, पानीका स्रोत र बोट बिरुवाहरु नै अथाह शक्तिका स्रोत हुन् भनेर पुजा गर्दछन् । त्यसैगरी  यस धर्तिमा आफुलाई जन्माउन,े जिवन जिउने कला सिकाउने आफ्ना पुर्खाहरुलाई मगरहरु अधिक पुज्दछन्

तरुल लगायत मिठो परिकार खानेः

मगरहरुले माघे संक्रान्ति भन्दा पहिले नै बिशेष गरेर बन तरुल लगायत अन्य तरुल, मासको दाल जोहो गरि राख्छन् । तरुलहरु संक्रान्तिको अघिल्लो रात नै उसिनेर तयार पार्छन् । मासको दाललाई कुटेर त्यसमा अदुवा, जिरा, नुन जस्ता मसला मिसाएर बारा पकाईन्छ । मगरहरु आफ्नो यस मौलिक परिकारलाई ‘देवली’ बारा भन्दछन् जुन निकै शुभ मानिन्छ । त्यसपछी बिहानै नुहाई धुवाई गरेर सफासुग्घर गर्छन् । घरको मुलिले पितृ तथा कुलको थानमा काँचो बन तरुल चढाएपछी घरको सबै सदस्यले काँचो बन तरुलको टिका लगाउँछन् र त्यसपछी बन तरुलकै एउटा टुक्रा पोलेर डढाएर बनाएको अंगारको टिका लगाएपछी काँचो बन तरुल खानुपर्छ त्यसपछी मात्र अन्य खानेकुरा खाईन्छ । घरमा साना बच्चाहरुले मुख जुठो गर्छन् की भनेर सावधानी अपनाउँदै उनीहरुलाई उठ्ने बित्तिकै टिका लगाई दिएर काँचो बन तरुल एक टुक्रा खुवाईन्छ । त्यसपछी सबै जना भेला भएर उसिनेको बन तरुल लगायत अन्य तरुलहरु, तरुलकै अचार या अन्य मिठो लाग्ने खानेकुरा खाने चलन रहेको छ । बन तरुल खन्न नभ्याएको या नपाएको ठाउँमा किनेर अझै त्यो पनि सम्भव नभएको ठाउँमा टिका लगाउनकै लागी भए पनि एक टुक्रा बन तरुल ल्याएर भए पनि बिधी पुरा गरिन्छ ।

बाराही पुजा गर्ने

मगरहरु बराहीलाई आफ्नो इष्ट देवता मान्दछन् । यहाँ बाराही भनेको हिन्दु ग्रन्थहरुमा अथ्र्याइए जस्तो बँदेल या राक्षस भन्ने बुज्नु हुँदैन । यस पर्वमा बाराही पनि पुजा गर्ने चलन रहेको छ । बाराही मन्दिरहरुमा भिन्दा–भिन्दै बर्ष पारेर ३ पटक पूजा गरेमा चिताएको पुग्छ भन्ने जनबिश्वास पनि रहेको छ । संक्रातिको दिनमा चेलिबेटि, पाहुना हुने हुनाले यो पूजा पर्व अगाडि या पछाडि गर्ने गरिन्छ । बिशेष गरेर कुनै बिपत्ती तथा केही भएको बेलाको भाकल भएमा, घरको कोही सदस्यको मृत्य भएपछी उसको सम्झनामा पनि बराही पुजा गरिन्छ ।

नाचगानः

यस चाडको दिन मानिसहरु दिनभरी खानपिन, भेटघाट गरिसकेपछी बेलुका भएपछी बिशेषगरी युवतीहरु होम्पई र युवा तथा बुढापाकाहरु पैंसारु नाच्ने गर्दछन् । कोही दोहोरीमा मस्त हुन्छन् । यस्तो दुई–तिन दिन सम्म चलिरहन्छ । यसै समयमा घाटु र कौह्रा उठाउने (धुर्ने) पनि गर्दछन् । यसरी घाटु र कौह्रा उठाउँदा भोज गर्ने चलन पनि छ । घाटु र कौह्रा उठान गरिसकेपछी बैठान पनि गर्नुपर्छ । यो कोहीले यसैबेला बैठान गर्छन् भने कोहीले साउने संक्रान्तिमा बैठान गर्दछन् ।

जनश्रुति

परापूर्व कालमा हाम्रा पुर्खाहरु जंगलमा बस्दथे । जंगलको खानेकुरा सकिएपछि बाँच्नलाई कठिन पर्दथ्यो । अरुबेला जे जस्तो खाएर बाँचे पनि जब हिउँद लाग्दथ्यो, सबै उजाड हुनाले खानको लागि धौ–धौ पर्दथ्यो । धेरै जना भोकले मर्थे । बाँच्ने र बचाउने कोशिष गरे पनि ज्यादै कठिन थियो । अरु बेला जे पनि खाएर बाँच्थे । तरुल त्यस बेलाको जता पनि पाइने एक मात्र फल थियो । त्यतीखेर काँचै खान्थे । हिउँद लागे पछी अनाज संकलनको लागी बनमा तरुल खन्न जान्थे । धेरै दिनको संकलन पछी अलिक छिप्पेको तरुल छानी खाल्डो खनेर वरीपरी चिसो नलाग्ने, गर्मीले पनि नभेट्ने गरी पुरेर राख्ने र कलिलो जती तत्काल खाने गर्दथे । बन तरुल फागुन सम्म नै पाईने भएकोले यसलाई अति महत्वपर्ण खाद्य बस्तु मानेर यसको टिका लगाउन थालियो । अलिक पछी देवताले आगो दिएर गएपछी पोलेर खान थालियो । यसै मान्यता अनुरुप देवताको नाममा पोलेर खाने र टिका लगाउने गरियो । अझै पछाडी चेलीबेटी तथा दाजुभाईलाई यसै चाडमा बोलाउने अनी रमाइलो गर्ने चलन आयो । यस्तो भेटघाट निकै दिन सम्म चल्दथ्यो । पछी तरुल सकिने बेला अब तरुल सकियो । मरिने हो कि बाँचिने भनेर भेटभाट गरी राखौं भनेर चैते दशैंमा भेटघाट गर्न थालियो । जब जेठ तिर गिठ्ठा भ्याकुर पलाउन थाल्यो अनी बाँच्ने आशा पलाउन थाल्यो र रमाउन थाल्यौं । अनी जब साउने सक्राती आउँछ हामी अब सुरक्षित भयौं भनेर खुसीले साउने सक्रान्ति मनाउन थाल्यौं । त्यसैले यो सारल्हेस अर्थात माघे संक्रान्ति आदीकाल देखी नै मनाउदै आएको प्रमुख चाड हो भन्ने बुढापाकाहरुको भनाई छ ।

निश्कर्ष 

यो चाड मगर, थारु, नेवार, लिम्बु, कुमाल, छन्त्याल, दनुवार लगायत अन्य जाती तथा समुदायले पनि आ–आफ्नै तरिकाले भव्य रुपमा मनाउछन् । हिन्दु धर्मावलम्बीहरुले पनि सुर्य धनु राशीबाट मकर राशीमा प्रबेश गरेको हुनाले मकर संक्रान्तिको रुपमा यस चाडलाई मान्दछन् । नेपाली जनजिब्रोमा यस पर्वलाई माघे संक्रान्ति भनेर किन र कसरी रहन गयो होला ?

आदिकालदेखि नै उच्च पहाडि र पहाडि भेगमा बसोबास गर्ने अनि धेरै जनसंख्या भएको जाती–मगर । मगर जाति इतिहासमा शासक र राज्यसंचालनको मुख्य तहमा रहेको कुरा इतिहासलाई जति बङ्ग्याउन खोजे पनि प्रष्ट छ । त्यसैले मगर सभ्यता, भाषा अनि सौन्दर्य सम्बृद्ध छ । मगर मातृभाषामा ‘मह्राङ’ को अर्थ रमाईलो अनि उल्लास र ‘याक’ को अर्थ दिन भन्ने हुन्छ । मह्राङ याक भन्ने शब्द बाट नै अपभ्रंस भई माघे संक्रान्ति भएको हुनसक्छ भन्ने मत पनि पछिल्लो पटक विश्वविद्यालय तहका शोेधार्थिहरुले राखेका छन् । किनकी अहिले पनि पश्चिमाञ्चल क्षेत्रका मगरहरु यस पर्वलाई माघ्या सक्राटि भन्दछन् । त्यसो त राज्यले वि.सं. २०६५ मा यस चाडलाई थारुहरुको महान पर्व भनि घोषणा गरिसकेको छ । देशभित्रकै प्रमुख जाति मगरको पर्व पहिचान र स्तरीकरण गराउनमा मगरहरु चुकेकै हुन् । आदिवासी मगर र थारुका संस्कार र परम्परा अध्ययन गर्दा धेरै समानताहरु भेटिन्छन् । गाउँघरमा एउटा भनाई पनि छ –‘पहाडमा सारु (मगरको एक थर), मधेशमा थारु’ । यस भनाईमा रहेको सत्यता यो पनि हुनसक्छ कि थारु र मगरहरुको अझ घनिष्ट सम्बन्ध छ । यसबारे अझ खोज अनुसन्धान हुन जरुरी छ । भनिन्छ, सत्य झटपट देखिदैन । त्यसैगरी हामीले खुट्याउन नसकेको तथ्य मगरहरुको प्रमुख चाड सारल्हेस÷माघ्या सक्राति अर्थात माघे संक्रान्ति हो । यस विषयमा मगर समुदाय नै पहिला सचेत हुनु जरुरी देखिन्छ । मगरहरुले आफुलाई मगर हो भनेर गर्व गर्ने कारण आफुहरुको भाषा, भेषभूषा अनि मौलिक परम्पराहरु हुन् भन्ने ठान्छन् भने आफ्ना यि जातिय र सांस्कृतिक निधिहरुलाई पनि जोगाउनतिर लाग्नु पर्दछ । होँचो कद, गोलो अनुहारमा नेप्टो नाक हुँदैमा मगर कहलिने कुरामा ढुक्क हुन सकिदैन, समुदायको विकास, संमृद्धि  र संचारमा जोड दिनु जरुरी छ । यसका लागि लैबरी(नाचगान) मात्र होईन, लाईब्रेरीमा अधिक  जानु आवस्यक छ ।

 

पाख्रिबास – ५, धनकुटा निवासी लेखक हाल दोहा कतारमा नेपाल मगर संघका वर्तमान सल्लाहकार हुनुहुन्छ । 

 

कमेन्ट गर्नुहोस्