भारतीय दूतवासले विज्ञप्ती जारी गर्दै भन्यो– लिपुलेक हाम्रो हो, केही समस्या भए वार्ता र संवादबाट सीमा समस्या हल गरौं

काठमाडौं ।

भारतले लिपुलेक र कालापानी लगायत मिचिएका सबै सीमा भारतको भएको दावी पुनः अगाडि सारेको छ ।

केही दिन अघि सेना प्रमुखको लिपुलेक क्षेत्रको भ्रमण र त्यसलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा भारतले सडक बनाइरहेको अभिव्यक्तिविरुद्धमा नेपालका केही राजनीतिक दल र आम जनताले प्रश्न उठाएपछि भारतीय दूतावासले विज्ञप्ती जारी गर्दै सीमा सम्बन्धमा भारतको पुरानो अडान कायम रहेको जनाएको हो ।

भारतले उक्त विवादित भूभाग भारतीय भूभाग भएको बताउँदै आएको छ । आज प्रकाशित विज्ञप्तीमा समेत सोही कुरा उल्लेख गरिएको छ ।

सीमा विवादको विषयमा नेपालका समाचार र विभिन्न दलहरूले विज्ञप्ति जारी गरेसँगै नेपालका लागि भारतीय दूतावासका प्रवक्ताले विज्ञप्ति जारी गर्दै सीमाको विषयमा भारत सरकार आफ्नो अडानमा स्पष्ट रहेको जनाएको हो ।

‘भारत–नेपाल सीमानामा भारत सरकारको अडान सर्वविदित, सुसंगत र स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारलाई जानकारी गराइसकेको छ ।’

यसअघि भारत सरकारले लिपुलेक आफ्नो भूमि बताउँदै त्यहाँ सेनासमेत राखिसकेको छ । अहिले त्यस आसपास नेपाली जनतामात्र होइन, आर्मी र एपीएफलाई समेत जान दिँदैन ।

यस्तै, दुई देशबीच रहेको सीमा विवादको समाधान सञ्चार र संवादबाट सम्बोधन गर्नसकिने समेत दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

सञ्चार र संवादका लागि स्थापित अन्तर–सरकारी संयन्त्र र च्यानलहरू सबैभन्दा उपयुक्त भएको भन्दै दूतावासले बाँकी रहेका विवाद घनिष्ठ र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको भावनामा सधैं सम्बोधन गर्नसकिने उल्लेख गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक बनाउने क्रम जारी रहेको भन्दै उत्तराखण्ड राज्यमा आएर बोलेपछि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले विज्ञप्ति जारी गर्दै मोदीको भनाइको विरोध गरेका थिए ।

कमेन्ट गर्नुहोस्