अफगानिस्तानलाई सहयोग गर्न काबुलतर्फ उड्यो टोली, आजै फर्किने

काठमाडौं । अफगानिस्तानको मानवीय संकटमा नेपालका तर्फबाट सहयोग गर्न एक टोली सामग्रीसहित काबुल प्रस्थान गरेको छ ।

आज बिहान हिमालयन एयरलाइन्सको जहाजबाट परराष्ट्र मन्त्रालयको टोली औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीसहित काबुल प्रस्थान गरेको हो ।

काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्ने जानकारी दिए ।

संयुक्त राष्ट्रसंघको कार्यालयमा सामग्री हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किनेछ ।

मन्त्री खड्काका अनुसार संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको सूची अनुसार सहायता सामग्रीमा औषधि, लत्ता कपडा र भाँडाकुँडा समावेश छ । खाद्यान्नबाहेकका यी सामग्री करिब १४ टन रहेको छ ।

सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्रीहरु व्यवसायीहरुले निःशुल्क रुपमा उपलब्ध गराएका हुन् । यसैगरी, ती सामग्रीहरु अफगानिस्तानसम्म पुर्‍याउन हिमालयन एयरलाइन्सले निःशुल्क चार्टर्ड उडान उपलब्ध गराएको छ ।

अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि विद्रोही संगठन तालिबानले शासन सुरु गरेलगत्तै अफगानिस्तानमा ठूलो मानवीय संकट देखिएको छ ।

कमेन्ट गर्नुहोस्