नयाँ दिल्ली । भारतीय क्रिकेट टीमको टेष्ट खेलका कप्तान बिराट कोहलीले अकस्मात राजीनामा दिएपछि नयाँ कप्तानको नाममा चर्चा शुरु भएको छ ।
सबैलाई चकित पार्दै हिजो बिराट कोहलीले आफू अब कप्तानको भूमिकामा नदेखिने घोषणा गरेका थिए ।
दक्षिण अफ्रिकासँग लज्जाष्पद हारपछि चौतर्फी आलोचना खेपेका कोहलीले आफ्नो कप्तानीको समयमा भने भारतीय टीमलाई मजबूत बनाएको भन्दै प्रशंसा समेत गरिएको छ । बनिबनाउ टीम भएको अवस्थामा कप्तान भएपनि त्यसलाई सही दिशामा अघि बढाउन सबैको क्षमताको कुरा नभएको र तमाम आलोचना चिर्दै कोहलीले जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए ।
तर उनले अचानक राजीनामा दिएपछि भने उनको स्थान कसले लिन सक्ला भनेर चर्चा शुरु भएको हो ।
भारतीय मिडियाहरुले कोहलीपछि रोहीत शर्मा, केएल राहुल र ऋषभ पन्तलाई बिराटको स्थान लिनसक्ने अनुमान गरेका छन् ।
बिराट कोहलीको स्थान लिनसक्ने भारतीय टीमलाई समेत अगाडि बढाउन सक्ने क्षमता रोहित शर्मा र केएल राहुल दुबैमा भएको र, खेलका हिसाबले ऋषभ पन्त उत्कृष्ट भएको टिप्पणी समाचारहरुमा छ ।
त्यसो त राहुल र पन्तसँग कप्तानी गरेको धेरै अनुभव भने छैन । आइपिएल टीमको कप्तानी गरेको अनुभवका आधारमा पन्तलाई कतिपयले टेष्ट म्याचको कप्तान हुनसक्ने भनेका छन् । त्यसो त पन्तले दक्षिण अफ्रिकाविरुद्धको खेलमा समेत उत्कृष्ट प्रदर्शन गरेका थिए ।
रोहितले एकदिवशीय र टी २० मा कप्तानी गरिसकेका छन् र उनी एउटा कुशल कप्तानको रुपमा देखिएका छन् । उनले टीम इण्डियाका लागि अहिलेसम्म ४३ म्याच खेलेका छन र यसमा उनले ३०४७ रन बनाएका छन् । उनले टेष्ट खेलमा ८ शतक र १४ अर्धशतक समेत बनाएका छन् । उनले टेष्टमै दोहोरो शतक समेत बनाएका छन् ।
केएल राहुलले भने अहिलेसम्म ४३ टेष्ट खेलेका छन् । तर उनीसँग टेष्ट खेलमा कप्तानीको अनुभव छैन । उनले दक्षिण अफ्रिकाविरुद्ध टेष्ट सिरिजमा एउटा खेलको भने कप्तानी गरेका थिए । उनले अहिलेसम्म खेलिएको ४३ टेष्टमा २५४७ रन बनाएका छन् । यो अवधिमा उनले ७ शतक र १३ अर्धशतक समेत बनाएका छन् ।