काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)ले राजनीतिक तथा संगठनात्मक सुदृढिकरणका लागि तीन महिने कार्ययोजना आक्रामक ढंगले अघि बढाउने भएको छ ।
वाइसिएलका अध्यक्ष सुमन देवकोटाका अनुसार, यसअघि पारित भएको कार्ययोजनालाई आक्रामकरुपमा अघि बढाइने भएको हो ।
कोरोनाका कारण कतिपय कार्यक्रमहरु यसअघि तय भएअनुरुप गर्न नसकिएपनि प्रविधिको प्रयोग गरेर संगठनात्मक कार्यहरु अघि बढाइने उनले बताए ।
त्यसका लागि वाइसिएलले माघ महिनाभित्र सातवटै प्रदेशको जुम प्रविधिको प्रयोग गरेर बैठक गर्ने र त्यसलगत्तै केन्द्रीय समितिको बैठक बसाल्ने छ । यसका साथै यो अवधिमा देशैभरी अनलाईन सदस्यता विवरण भर्ने योजना समेत वाइसिएलको छ ।
“एक निर्वाचन क्षेत्र, एक हजार वाइसिएल निर्माण गर्ने हाम्रो लक्ष्य हो । सोही अनुरुप हरेक प्रदेश र स्थानीय समितिहरुले अनलाईन सदस्यता भर्ने काम गर्नेछन् ।” देवकाटोले भने, “त्यसलगत्तै जिल्ला समन्वय समिति तथा पालिकाहरुको समेत बैठक बसेर राष्ट्रिय सम्मेलनका लागि आवश्यक तयारी हुने छ ।”
संगठन विस्तार सुदृढिकरणसँगै वाइसिएलले राजनीतिक तथा वैचारिक क्षेत्रमा समेत प्रशिक्षण घनिभूतरुपमा अघि बढाउने देवकोटाले बताए । यसका लागि मोटामोटी पाठ्यक्रमको रुपरेखा तयार गरिने र कोरोना महामारीलाई मध्यनजर गर्दै प्रशिक्षण दिइने उनले बताए ।
देवकोटाले राजनीतिक, संगठनात्मक, सूचना प्रविधि र वित्तिय साक्षरताका विषयमा संगठनका सबै तहमा प्रशिक्षण दिने योजना बनाएको छ ।
“वैचारिक र संगठनात्मक विषयमा प्रशिक्षण नियमित प्रक्रिया भएपनि हामीले सूचना प्रविधि र वित्तिय साक्षरताको पनि प्रशिक्षण दिन गइरहेका छौं ।” उनले भने, “अहिलेको समयमा संगठनका सबै सदस्यहरुले डिजिटल उपकरण तथा एप्लिकेसनको संगठनको लक्ष्य पूर्तिका लागि उपयोग गर्न दक्ष हुनुपर्छ भन्ने हामीलाई लाग्यो । त्यसैले सूचना प्रविधि, यसको संगठन र आन्दोलनमा प्रयोग जस्ता विषयमा समेत प्रशिक्षण दिने योजना बनाएका हौं ।”
आर्थिक सुशासनका पक्षमा अभियान सञ्चालन गर्दै आएको वाइसिएलले सदस्यहरुलाई वित्तिय साक्षरता अन्तर्गत समेत प्रशिक्षण दिने बताएको छ ।
संगठनात्मक र वैचारिक कार्ययोजनापछि वडा तहदेखि नै सम्मेलन गरेर राष्ट्रिय सम्मेलनको तयारीमा जुट्ने देवकोटाले बताए ।
“वाइसिएलले आफ्नो बिरासत धान्दै नयाँ परिस्थितिमा समाजवादउन्मुख समृद्धिको कार्यदिशा कार्यान्वयन गर्न विशेष भूमिकामा आफूलाई प्रस्तुत गर्ने आसा लिएका छौं ।” देवकोटाले भने, “यसका लागि आवश्यक संगठनात्मक र वैचारिक दुबै क्षेत्रमा हामी कटिबद्ध भएर लागेका छौं ।”