प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ३ सचिवसहित ४० कर्मचारी संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको फैलावट देशको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबारमै व्यापक बनेको छ। संसद सचिवालय, मन्त्रालयका साथै पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कर्मचारीहरु नै कोभिड–१९ को संक्रमणबाट पीडित बनेका छन्।

आइतबार बेलुकीसम्मको तथ्यांकअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका ३ सचिवसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। दुई दिनमा २ सय जना कर्मचारीको पीसीआर परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

कोभिड १९ बाट संक्रमित हुनेहरुमा आर्थिक तथा पूर्वाधार विकास हेर्ने सचिव शिशिरकुमार ढुंगाना, सीसीएमसीसीका प्रमुख रहेका प्रादेशिक समन्वय र सामाजिक विकास हेर्ने सचिवहरु रामप्रसाद थपलिया र कृष्णबहादुर रावत रहेका छन्। त्यसैगरी प्रधानमन्त्री कार्यालयमा रहेका ४० जना कर्मचारीमा कोरोना पुष्टि भएको कार्यालयका प्रवक्तासमेत रहेका सहसचिव महादेव पन्थले जानकारी दिनुभयो।

प्रवक्ता पन्थका अनुसार कार्यालयका २ सचिवमा कोरोना संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली बोलाएर कार्यालयमा नै पीसीआर परीक्षण गराएको थियो। उहाँका अनुसार थप केही कर्मचारीको आइतबार परीक्षण गरिएकाले उनीहरुको रिपोर्ट आउन बाँकी छ।

 

कमेन्ट गर्नुहोस्