सुर्खेत । सुर्खेतको बिरेन्द्रनगर नगरपालिकामा निकै दुखद घटना भएको छ ।
नगरपालिकाको बुदबुदीमा कोइला बालेर सुतेका आमा र तीनजना बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३५ वर्षीया कल्पा बुढा, ९ वर्षीय छोरा निरज बुढा, ८ वर्षीय छोरा चिरञ्जीवी बुढा र ५ वर्षीय सोमराज बुढा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवंम प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले मिडियालाई दिएको जानकारी अनुसार, मृतकहरु शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतेका थिए । तर प्रहरीले भने अर्को दिन साँझ साढेबजेमात्र खबर पाएको थियो ।
घरमैं रहेका ससुरा भने शनिबार बिहानै बाहिर निस्केका थिए । शनिवार साँझ ६ बजे घर फर्किँदा बुहारी र नातिहरुलाई नदेखेपछि उनले भित्रबाट ढोका लगाएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।’
शनिबार बेलुकी साढे ७ बजेतिर घटनास्थल पुगेको प्रहरीले जनप्रतिनिधि र स्थानीयको रोहबरमा घरको ढोका फोडेर हेर्दा उनीहरु मृत अवस्थामा फेला परेका थिए । खाटमुनि कोइला बालेको देखिएको थियो । मृतक चारै जनाको मुखमा फिज थियो ।
कल्पाका श्रीमान कृष्णबहादुर जाजरकोट भएकाले आइतबारमात्र प्रहरीले मुचुल्का उठाई अनुसन्धान अघि बढाएको छ । मृतकहरुलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ
प्रहरीले अहिल पोष्टमार्टम रिपोर्ट नआउँदासम्म घटनाको कारण बताउन नसकिने जनाएको छ ।