कोभिड संक्रमण बढेपछि सर्वोच्चले ग¥यो यस्तो निर्णय

काठमाडौं । कोभिड–१९ को संक्रमण दर उच्च हुँदै जान थालेपछि सर्वोच्च अदालतले आफ्ना नियमित काम कार्बाहीलाई व्यवस्थित र सीमित गर्ने जनाएको छ।

मंगलबार फुलकोर्टको बैठकपछि जारी विज्ञप्तीमा अदालतले संक्रमणको जोखिम न्यूनीकरण गर्न आगामी दुई सातासम्म सुनुवाइका कार्यहरू सीमित संख्यामा सञ्चालन गर्ने बताइएको छ।

विज्ञप्तीमा उल्लेख गरिएअनुसार अबका केही दिन सर्वोच्चले बन्दी प्रत्यक्षीकरण र अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको सुनुवाइ, मुद्दा फिर्ता‚ तामेली एवं मिलापत्रसम्बन्धी काम कारबाही‚ थुनुवा भएका मुद्दाको सुनुवाइजस्ता अत्यावश्यकीय सेवा प्रवाह गर्नेछ।

त्यसैगरी हेर्दाहेर्दै र नियमित सुनुवाइमा रहेका मुद्दाको सुनुवाइ र नेपाल सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने निर्णय भएको अदालतले जनाएको छ। त्यस्तै, स्थानीय स्तरको अवस्था हेरेर जिल्ला र उच्च अदालतले यसबारे आफै निर्णय गर्न सक्ने गरी फुलकोर्टले अख्तियारी पनि दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

फुलकोर्ट संयुक्त रुपमा बस्ने परम्परा रहे पनि यस पटक प्रधानन्यायाधीशसहित सबै न्यायाधीश आ–आफ्नै च्याम्बरमा रहेर बैठक बसेको थियो। अहिले सर्वोच्चले न्यायाधीश‚ मुख्य रजिस्ट्रार लगायत ३१ जना कर्मचारीहरुमा कोरोना संक्रमण देखिइसकेको छ।

कमेन्ट गर्नुहोस्