माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय !

काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विद्यार्थी तथा शिक्षकहरुलाई खोप लगाउने प्रयोजनका लागि माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय गरेको छ।

मंगलबार गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको बैठकले माघ १६ गतेदेखि २० गतेसम्म कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय गरेको गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी दिनुभयो। त्यो समयमा विद्यालयमा खोप अभियान नै चलाइने छ।

त्यस्तै विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। कोभिड सङ्क्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ। त्यो सर्कुलर भने सम्बन्धित मन्त्रालयले विश्वविद्यालयमा गर्ने बताइएको छ।

याे पनि पढ्नुस  अमेरिकामा फेरि बढ्यो कोरोना

त्यस्तै बैठकले जहाजमा यात्रा गर्नेलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गर्न भनिएको छ। अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य राख्नुपर्ने व्यवस्था मिलाउन भनिएको छ।

त्यस्तै बैठकले राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय पनि गरेको छ।

याे पनि पढ्नुस  कुन ‘ब्लड ग्रुप’ लाई कोरोनाको बढी खतरा? यस्तो भन्छ अध्ययन

नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालबाट पनि सर्वसाधारणलाई कोभिडविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन भनिएको छ। विदेशबाट नेपाल भित्रने नाकामा एन्टीजेन्ट परीक्षण गर्ने र खोप नलगाएकालाई खोप लगाउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ।

नेपालमा रहेका विदेशी नागरिकलाई पनि खोप लगाउने व्यवस्था मिलाउन बैठकले निर्देशन दिएको छ।

बैठकमा गृहमन्त्री खाँणले कोभिड महामारी रोकथाम र नियन्त्रणमा सरकार गम्भीर र संवेदनशील रहेको बताउनुभयो। कोभिडबाट नागरिकलाई बचाउने दायित्व सरकारको भएको भन्दै उहाँले त्यसबारे संवेदनशील भएर काम गर्न निर्देशन पनि दिनुभयो।

याे पनि पढ्नुस  आज २८५६ जनामा कोरोना, एकै दिन निको भए ३३३६ संक्रमित

बैठकमा गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलगायतको सहभागिता थियो।

कमेन्ट गर्नुहोस्