दोलखाका पदमबहादुरको खेतमा १४ किलोको दुई मुला

काठमाडौं । दोलखाका एकजना किसानले १४ किलो तौलका दुईवटा मूला फलाएका छन् ।

सामाजिक सञ्जालमा तस्वीर राखेपछि ती मुलाहरुबारे चर्चा सुरु भएको हो ।

यही विषयमा सेतोपाटीले एक समाचार प्रकाशित गर्दै पुनका बारेमा जानकारी दिएको छ ।

समाचारमा उल्लेख गरिएको छः

दोलखामा तरकारी खेती गरेर जीविकोपार्जन गर्दै आएका पदमबहादुर तामाङ मंगलबार एकाएक चर्चामा आए।

सामाजिक सञ्जालमा एउटा फोटो हालिएको थियो। त्यसमा एक युवा एउटा हातले डोको समातेर अर्को काँधमा मुला बोकेर कान्ला उक्लिँदै छन्।

पदमको चर्चाको कारण यही मुला हो। मुला बोक्ने भने उनका भतिजा हुन्। मुला यति ठूलो छ कि यसलाई काँधमा काठको मुढो बोकेझैं बोक्नुपरेको छ।

आलु रोप्ने ब्याड तयार पारेर फर्किँदै गर्दा पदमका भतिज मुला बोकेर उक्लेका थिए। त्यसपछि पदमका छोराले त्यसको फोटो खिचेर फेसबुकमा हालेका थिए।

मुला बोकेको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि पदमलाई गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले फोन गरे। मुला लिएर पालिकामै आउन निम्तो दिए।

‘म खुसी हुँदै १४ किलोका दुइटै मुला बोकेर मंगलबार पालिकाको कार्यालय पुगेँ,’ पदमले खुसी हुँदै सुनाए।

उनका अनुसार गाउँपालिकाले उनलाई नगदसहिद सम्मान गर्यो। सिँचाइका लागि तीन सय मिटर पाइप पनि दियो।

‘आफूले फलाएको तरकारीले पुरस्कार पाउँदा खुसी लागेको छ,’ पदमले भने।

दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर १ ठेकलाध्यूका पदमको पुर्ख्यौली पेसा नै कृषि हो। उनले यही पेसालाई निरन्तरता दिएको झन्डै पाँच दशक हुन लाग्यो।

पदमले बीस रोपनी जमिनमा आलु, काउली, बन्दा, केराउ लगायत विभिन्न प्रकारका तरकारी उत्पादन गरेका छन्।

उनको बारीमा यसअघि पनि ७ किलोसम्मको मुला फलेको रहेछ।

‘तर यो अहिलेसम्मकै सबैभन्दा ठूलो हो,’ दंग परेका पदमले भने, ‘सिजनको मुला सबै बिक्री भइसक्यो। केही बारीमै बाँकी थियो। निकालेर हेर्दा त्यत्रो रहेछ। हिजो सम्मान पाएको मुला साढे दुई महिनाको हो।’

उनले बारीमा रातो र सेतो दुई थरीका मुला लगाएका छन्। सिजनका मुला दुई महिनाअघि नै बजार पुर्‍याइसकेर आम्दानी लिइसके। नबिकेर बारीमै थन्किएको बेमौसमी मुलाले भने उनलाई चर्चा मात्र दिलाएको छ।

सामान्यतया मुला सलाद वा अचारमा प्रयोग गरिन्छ। तर छिप्पिएको मुला न सलाद हुन्छ, न अचार मिठो। भए बिक्दैन पनि। त्यसैले उनी भन्छन्, ‘जति नै ठूलो भए पनि यो मुला गाइवस्तुलाई खुवाउने मात्र हो। बचेको केही काटेर सुकाएर भुजुरी बनाउँछौं।’

सिजनअनुसार विभिन्न थरीका तरकारी खेती गर्दै आएका पदम अहिले आलु रोप्ने तयारीमा छन्। उनका अनुसार अहिले रोपेको आलु असार महिनामा निकालिन्छ। त्यसपछि केराउ, काउली, बन्दा, मुला रोपिन्छ।

उनले वार्षिक आट हजार टनसम्म आलु उत्पादन गर्छन्। अन्य तरकारी पनि उत्तिकै उत्पादन हुन्छ। तरकारीको राम्रो उत्पादनले उनलाई यो काममा ऊर्जा थप्दै लगेको छ। त्यसैले त उमेर ढल्किँदै गए पनि उनको जोश र जाँगर बढ्दो छ।

भन्छन्, ‘अहिले आफूसँग भएको जमिनमा मात्र तरकारी लगाएको छु। केही जग्गा भाडामा लिएर तरकारी खेती थप्ने योजनामा छु।’

उनले तरकारी खेतीबाट वार्षिक तीन लाखसम्म आम्दानी गर्छन्। यसबाट घरखर्च राम्रै चलेको छ। खेतीको काममा श्रीमतीको उत्तिकै सहयोग छ।

दोलखामा उत्पादन भएको तरकारीको बजार व्यवस्थापन भने दुई छोराले गर्छन्।

‘काठमाडौंको बौद्धमा आलु गोदाम र कपनमा तरकारी गोदाम सञ्चालनमा छन्। गोदाम छोराहरूले हेर्छन्,’ पदमले भने, ‘बारीमा उत्पादन भएको तरकारी टिपेर सिधै गाडीमा पठाउँछौं। बिक्री वितरणमा छोराहरू लागि पर्छन्।’

बिचौलियालाई तरकारी दिँदा धेरै घाटा लागेपछि आफैंले गोदाम खोलेको उनी बताउँछन्।। अहिले त आफ्नो मात्र होइन, गाउँका अरू किसानको आलु तथा अन्य तरकारी पनि खरिद गर्दै ढुवानी गरिरहेको उनले बताए।

‘यति भएपछि तरकारीले बजार नपाउला कि, बिचौलियाले ठग्लान् कि भन्नु पनि परेन नि,’ उनले थपे।

कमेन्ट गर्नुहोस्