चाहेको बेला यौन उत्तेजना नभएर हैरान हुनुभएको छ?

यौन आम मानिसमात्रै होइन, प्राणी जगतकै लागि अपरिहार्य र अनिवार्य विषय हो। यौन जीवन नहुँदो हो भने सृष्टिको निरन्तरता नै रोकिने स्थिति हुन्थ्यो। यौन जीवनको आनन्दको अनुभूति नहुँदो हो त मानव जीवन पनि कति निरस हुन्थ्यो होला। तर, त्यहीँ यौन जीवनको आनन्दभित्र पनि कयौं समस्याहरु हुने गर्दछन्। त्यस्तै समस्यामध्ये एक हो- यौन उत्तेजना नहुनु। आज हामी यहीँ विषयमा यहाँ चर्चा गर्दैछौं।

यौन उत्तेजनाको समस्या महिला र पुरुष दुवैमा हुने गर्दछ। पुरुषहरुमा प्रयाप्त समयसम्म लिङ्ग ठाडो र कडा नरहने समस्या आउन सक्छ। पुरुषमा शारिरीक रोग, मद्यपान तथा लागूपदार्थ र औषधि सेवन जस्ता कारणले पनि यौन उत्तेजना नआउने हुन्छ। तर यौन क्रियाकलापमा लिङ्ग उत्तेजित हुन्न भने मनोगत समस्या भएको बुझ्न सकिन्छ। प्रायः डर, त्रास, उदासिनता, चिन्ता, थकान वा यौन चाहनाको कमीले पनि यौन उत्तेजना नआउने हुन्छ। उमेर छिप्पिँदै गएपछि यौन उत्तेजनाको समस्या पनि बढ्दै जाने गर्छ।

महिलाहरुमा भने उत्तेजनाको बेला यौनाङ्ग मुलायम भई फैलिने र रसिलो हुने प्रक्रियामा गड्बडी हुने समस्या हुन्छ। धेरै महिलाहरुमा डर, त्रास, संकोच जस्ता मनोगत कारणहरुले पनि यौन उत्तेजना आउदैन। केही महिलाहरुमा संक्रमण, हर्मोनको समस्या वा अन्य कुनै औषधिको सेवनले पनि यौन उत्तेजना नआउने हुन्छ। यस्ता समस्याग्रस्त महिला र पुरुष दुवैमा रहेको डर र त्रासलाई मनोवैज्ञानिक विधिद्वारा निवारण गर्दै लानुपर्ने हुन्छ।

चरम आनन्द नहुने समस्या

यौन समागमको चरम विन्दुमा आनन्द अनुभव नहुने समस्या तुलनात्मक रुपमा महिलाहरुमा बढी देखिन्छ। यसका दुई कारण छन्। पहिलो महिलाकै आफ्नो विभिन्न कारणले चरम विन्दुमा नपुग्नु र दोस्रो कारण पुरुषमा यौन ज्ञान, अनुभवको कमी तथा विभिन्न व्यक्तिगत र सामाजिक दृष्टिकोणका कारण महिलाको यौन आवश्यकता पूरा नहुनु हो।

पुरुषमा भने यौन उत्तेजना ढिलो वा चाँडो वीर्य स्खलन वा वीर्य स्खलन नै नहुन सक्छ। हस्तमैथुन र अन्य तरीकाले आनन्द महसुस हुने बानी परेका कतिपय पुरुषहरुमा यौन समागमले वीर्य स्खलन नहुन सक्छ। यौनलाई दवाइने सामाजिक, पारिवारिक माहोल वा दृष्टिकोण तथा विभिन्न औषधि र लागुपदार्थको सेवनले पनि यस्तो अवस्था श्रृजना हुनसक्छ।

यौन शिक्षा वा ज्ञान, यौनसम्बन्धी भ्रमको निवारण र दम्पतिबीच समझदारी नै समस्याको समाधानमा महत्वपूर्ण हुन्छ। विशेषगरी पुरुषले महिलालाई यौन प्रक्रियाको चरणदेखि विभिन्न क्रियाकलापबाट आनन्दको चरणतिर लानुपर्ने हुन्छ। प्राकृतिक हिसाबले पुरुष चाँडो र सजिलै उत्तेजित भई चरम सुखको चरणमा पुग्ने भएकाले महिलालाई यस्तो चरणसम्म पु¥याउन पुरुषले बिस्तारै सहवासको प्रक्रिया अगाडि बढाउनु र उत्तेजित पार्नुपर्ने हुन्छ।

शीघ्रपतन

किशोर तथा नवविवाहित पुरुषहरुमा यौन अनुभव कमी शीघ्रपतनको कारण हो। महिलाको यौनाङ्गमा लिङ्ग घुसाउनु अघि वा तुरुन्तै वीर्य झर्नाले यौन तृप्तिको कमी हुन जान्छ। यो समस्या अधिकांशमा मनोगत हुने गर्छ। यसको निराकणका लागि यौन ज्ञान, यौन सम्बन्धी भ्रमको निवारण र श्रीमतीको समझदारी महत्वपूर्ण हुन्छ। पुरुष उत्तेजित भै वीर्यस्खलन होला जस्तो अनुभव भएपछि महिलाले पुरुष अंगको टुप्पाभन्दा केहि तलतिर केही सेकेण्डका लागि दुई औँलाले थिचेर उत्तेजना अलिकम भएपछि छोड्ने तरीका पनि अपनाउन सकिन्छ। चिकित्सकको सल्लाह अनुसार औषधि पनि लिन सकिन्छ।

समागममा दुखाई

समागमको बेला महिला र पुरुष दुवैलाई यौनाङ्गमा दुखाई अनुभव हुन सक्छ। यस्तो दुखाइ प्रायः सम्भोगको बेला र कहिलेकाहीँ त्यसपछि वा अघि पनि हुन सक्छ। यस्तो दुखाइ हुनुका मुख्य कारणहरु समागमको बेला यौनाङ्गमा सुख्खा रहनु, घर्षण हुनु, त्यसमा खाटा पर्नु, संक्रमण, मांसपेशीको संकुचन वा जननेन्द्रियका अन्य रोगहरु हुन्। केही महिलाहरुलाई यौनाङ्गमा पुरुष लिङ्ग छिरेपछि मांसपेशीको संकुचन भई पीडा अनुभव हुन्छ।

यौन अंगमा शारिरीक हिसाबले गड्बडी हुँदैन तर सम्भोगको कल्पना मात्रले पनि यस्तो दुखाई अनुभव हुनसक्छ। यस्तो अवस्थामा महिलाहरुले स्त्रीरोग विशेषज्ञ र पुरुषले पनि चिकित्सकलाई जँचाएर जनेन्द्रीयमा कुनै समस्या छ कि भनी निक्र्यौल गर्न आवश्यक हुन्छ।

कमेन्ट गर्नुहोस्