बैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गराउने प्रकृयामा सहजीकरण गर्न निर्देशन

 

स्वास्थ्य बीमा बोर्डले बैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गराउने प्रकृया अन्तिम चरणमा पुर्याएको छ। बोर्डले बैदेशिक रोजगारमा जाने कामदारको परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गराउने कार्यविधि २०७८ माघ महिना भित्रै लागू गर्ने भएको हो।

बोर्डले बैदेशिक रोजगारमा जाने परिवारलाई अनिवार्य स्वास्थ्य बीमामा समेट्ने गरी कार्यविधि तयार गरिराखेको छ ।

कार्यविधि लागु भएपछि बैदेशिक रोजगारमा जाने हरेक व्यक्तिले आफ्नो परिवारको अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने हुन्छ ।

स्वास्थ्य बीमा ऐनमा भएको व्यवस्था अनुसार नै बोर्डले बैदेशिक रोजगारमा जाने कामदारको परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गराउने कार्यविधि बनाउन लागेको हो ।
अहिले कार्यविधि लागु नभएपनि बैदेशिक रोजगारमा जाने व्यक्तिले स्वःफुर्त रुपमा परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गराउने प्रयास भैरहेको छ ।

यस्तै, बोर्डले बैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गराउन आवश्यक सहयोग, सहजीकरण एवं समन्वय गर्न तथा गराउन प्रदेश तथा जिल्ला कार्यलयका सबै संयोजकहरुलाई निर्देशन दिएको छ।

स्वाथ्स्य बीमा ऐनमा बैदेशिक रोगजारमा जाने कामदारको परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनु पर्ने व्यवस्था उल्लेख छ। स्वास्थ्य बीमा नियमावली २०७५ तथा एवं बैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यविधि २०७८ अनुसार आवश्यक सहयोग तथा समन्वय गर्न बोर्डले निर्देशन दिएको हो।

कार्यविधिमा के छ व्यवस्था
बैदेशिक रोजगारमा जाने प्रत्येक व्यक्तिले बैदेशिक रोजगारमा जाने अनुमति लिंदा परिवारको स्वास्थ्य बीमाको अद्यावधिक परिचयपत्र पेश गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन सम्बन्धित व्यक्तिले नजिकको दर्ता सहयोगि वा अनलाईन मार्फत पनि बीमा गर्न सकिने व्यवस्था गरेको छ।

बैदेशिक रोजगारमा जाने प्रयोजनको लागि स्वास्थ्य बीमा बोर्डले बैदेशिक रोनजगार विभागसँग समन्वय गरी श्रम स्वीकृति दिन कार्यालयहरुमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्धता हुने व्यवस्था मिलाउनु पर्ने व्यवस्था छ।

बैदेशिक रोजगारमा गएका व्यक्तिको परिवारको बीमालेख नविकरण बीमालेखको म्याद समाप्त हुनु एक महिना गर्नु पर्ने कार्यविधिमा उल्लेख छ।

यस कार्यविधि अन्तर्गत दर्ता भएको बीमितले पनि स्वास्थ्य बीमा नियमावली अनुसार नै सेवा पाउने बोर्डले जनाएको छ।

बैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने विषयमा प्रदेश तथा स्थानिय तहसँग समन्वय गर्ने कार्यमा बोर्डले दर्ता सहयोगि, दर्ता अधिकारी र प्रदेशस्तरमा रहेको कार्यालयले प्रदेश वा स्थानिय तहसँग समन्वय गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

यस्तै बैदेशिक रोजगारमा जाने व्यक्तिको परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने, परिवारलाई सेवा सहुलियत दिने, बीमाको नविकरण गर्ने लगायतको विषयमा आवश्यक नीतिगत सुझाव दिन, समस्या समधान गर्न, बीमामा आवद्ध हिुने प्रकृया सहज बनाउन समन्वय समिति गठन गर्नेछ।

बोर्डको कार्यकारी निर्देशकको संयोजकत्वमा श्रम तथा रोजगार मन्त्रालय, बैदेशिक रोजगार विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधि रहने गरी बोर्डले समन्वय समिति गठन गर्नेछ।

कमेन्ट गर्नुहोस्