किन स्थगित भयो पाँच दलीय समन्वय समितिको बैठक?

काठमाडौं । सरकारमा सहभागी दलहरु सम्मिलित पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ।

राष्ट्रिय सभा निर्वाचन, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन र स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न आज बस्ने भनिएको समन्वय समितिको बैठक स्थगित भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको उक्त बैठक आवश्यक तयारी नपुगेको भन्दै स्थगित भएको वालुवाटार स्रोतले जानकारी दिएको छ। यसअघि गत मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संघको संसदीय निर्वाचन र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका थिए। त्यसबारे थप गृहकार्य गरेर आज बैठक बस्ने भनिएको थियो।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्नेगरी सिफारिस गरिसकेको छ। सत्ता गठबन्धन दलहरूबीच निर्वाचन मितिबारे सहमति जुट्न सकेको छैन। निर्वाचन मिति तोक्ने विषयमा शीर्ष नेताहरुले फरक–फरक धारणा राखिरहेका छन्।

कमेन्ट गर्नुहोस्