एन्टिबायोटिकको अत्याधिक प्रयोग स्वास्थ्यका निम्ति खतरनाक

एन्टिबायोटिकको अत्याधिक प्रयोग मानवको निम्ति खतरनाक हुने अध्ययनबाट देखिएको छ। एन्टिबायोटिकको अत्याधिक प्रयोगले ब्याक्टेरियामा औषधिको प्रभाव कम हुन्छ। जसका कारण सन् २०१९ मा संसारभरमा १२ लाखभन्दा बढी बिरामीले ज्यान गुमाएको उक्त अध्ययनको निष्कर्ष छ।

ब्याक्टेरियाहरूमा एन्टिबायोटिकको असर नहुनुको कारणबाटै त्यति ठूलो संख्यामा बिरामीको मृत्यु भएको शोधकर्ताहरूले निष्कर्ष निकालेका छन्। यो आँकडा मलेरिया र एड्सबाट बर्सेनि हुने मृत्युको भन्दा बढी हो।

मेडिकल जर्नल ‘द लान्सेट’मा प्रकाशित अध्ययनको रिपोर्टअनुसार गरिब मुलुकका नागरिक यसबाट ज्यादा प्रभावित छन्। औषधिहरू असर बिहीन हुने अवस्थालाई मेडिकल शब्दावलीमा ‘एन्टी(माइक्रोबियल रेसिस्टेन्स एएमआर’ भनिन्छ। यो अवस्था त्यतिबेला आउँछ, जब ब्याक्टेरिया,भाइरस र परजीवीहरू समयसँगै बदलिँदै जान्छन्।

अनि,तीमाथि औषधिको कुनै प्रतिक्रिया हुँदैन,उपचार कठिन हुन्छ अनि बिरामी गम्भीर बन्दै मृत्युवरण गर्छ।

त्यसैले यस समस्याबाट छुटकारा पाउन तत्काल नयाँ औषधिहरूमा लगानी बढाउन र अहिले उपलब्ध औषधिहरूको उपयोग अधिक समझदारीका साथ गर्न शोधकर्ताहरूले सल्लाह दिएका छन्।

खासमा,सामान्य संक्रमणमा पनि एन्टिबायोटिक प्रयोग गरिहाल्ने बानीका कारण ‘एन्टी–माइक्रोबियल रेसिस्टेन्स’को अवस्था आएको शोधकर्ताहरूको निष्कर्ष छ। सामान्य रोग र संक्रमणकै कारण मानिसको मृत्यु भइरहेको छ। र, जुन ब्याक्टेरियाका कारण संक्रमण हुँदै आएको छ, ती अब प्रतिरोधी बनेका छन्। र, औषधिको असर देखिन छाडेको छ।

हालै बेलायती स्वास्थ्य अधिकारीहरूले‘एन्टी(माइक्रोबियल रेसिस्टेन्स’लाई लुकेको महामारी संज्ञा दिएका छन्। यदि समयमै यसको निदान नखोजिए कोरोना महामारीजस्तै ठूलो रूप लिन सक्ने चेतावनी उनीहरूले दिएका छन्।

कोभिड(१९ का बिरामी अस्पताल भर्ना हुने क्रम बढ्दा एन्टिबायोटिकको उपयोग पनि अत्यधिक बढ्यो,जसले ‘एन्टी(माइक्रोबियल रेसिस्टेन्स’को जोखिम बढाएको छ।

‘द लान्सेट’को पछिल्लो अध्ययन २०४ मुलुकमा गरिएको विश्लेषणमा आधारित छ। यस अध्ययनको नेतृत्व वासिङ्टन विश्वविद्यालयले गरेको थियो। सन् २०१९ मा मृत्यु भएका करिब ६० लाख मानिसको मृत्युको कारण प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ‘एन्टी(माइक्रोबियल रेसिस्टेन्स’ भएको शोधकर्ताहरूको अनुमान छ।

सन् २०१९ मा एड्सबाट आठ लाख ६० हजार र मलेरियाबाट ६ लाख ४० हजारको मृत्यु भएको थियो।‘एन्टी(माइक्रोबियल रेसिस्टेन्स’का कारण हुने अधिकांश मृत्युमा निमोनिया र फोक्सोको संक्रमण देखिने गरेको छ। उक्त रिपोर्टअनुसार सन् २०१९ मा ‘एन्टी(माइक्रोबियल रेसिस्टेन्स’का कारण दक्षिण एसियामा तीन लाख ८९ हजारको मृत्यु भएको थियो।

कमेन्ट गर्नुहोस्