सकियो सरकार सञ्चालन समन्वय समितिको बैठक, यस्तो गर्यो निर्णय

काठमाडौं । बालुवाटारमा अपराह्न शुरु भएको सत्ता गठबन्धनसम्बद्ध सरकार सञ्चालन समन्वय समितिको बैठक भर्खरै सकिएको छ।

बैठकले तीनवटै तहका निर्वाचन, संविधान र ऐन कानूनमा भएको व्यवस्था र एकैपटक निर्वाचन गर्दा बाझिन सक्ने कानूनी व्यवस्था लगायतका विषयमा कानूनविद्हरुसँग गठबन्धनको तर्फबाट छलफल गर्ने निर्णय गरेको माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए।

‘तीन पटकमा सम्पन्न भएका स्थानीय तहका निर्वाचन, संविधान र कानुन अनुसार तिनको समयावधि, एकैपटक निर्वाचन गर्दा बाझिने सक्ने कानुनी ब्यवस्था र त्यसको उपाय, संघ र प्रदेशको निर्वाचन आदिबारे गठबन्धनको तर्फबाट कानुनविदहरुसँग परामर्श गर्ने निर्णय भएको छ’, स्वकीय सचिव मल्लले भने, ‘सत्ता गठबन्धनमा आबद्ध दलहरु संवैधानिक व्यवस्थाअनुसार निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेका छन्।’

गठबन्धनले जिम्मेवार राजनीतिक शक्तिको रूपमा देश, संविधान र लोकतन्त्रको रक्षामा आफुलाई उभ्याएको निष्कर्ष निकाल्दै गठबन्धनको एकताले केही तत्वहरुमा छट्पटी बढेको मल्लले बताए।

बैठकमा समितिका संयोजक एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहित प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेता सहभागी भएका थिए।

कमेन्ट गर्नुहोस्