तीन जलविद्युत आयोजनाका १०.६ मेगावाट विद्युत केन्द्रीय प्रशारणलाइनमा

खोटाङ । खोटाङका तीनवटा जलविद्युत आयोजनाबाट १०.६ मेगावाट विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोडिएका छन्। साप्सुखोला जलविद्युत आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाईड्रोपावर गरी १०.६ मेगावाट जलविद्युत् ३३ केभी केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादन गरिएको साप्सुखोला जलविद्युत आयोजना ६।६ मेगावाट, केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र वडा–७ सुङ्देलको सीमानामा पर्ने रावा खोलाबाट तीन मेगावाट र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट एक मेगावाट क्षमताको विद्युत उत्पादन गरिएको छ।

जिल्लाका फरक–फरक तीनवटा खोलाबाट उत्पादन गरिएका विद्युत नेपाल विद्युत प्राधिकरणको जलजले–बुइपा ३३ केभी प्रशारणलाइनमार्फत् केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो।

साप्सुखोला जलविद्युत आयोजनाको काम सम्पन्न भएसँगै गत मङ्सिर–१४ गतेदेखि परीक्षण उत्पादन शुरु गरिएको थ्रीस्टार हाइड्रो पावर कम्पनी लिमिटेडका सञ्चालक ध्रुवबहादुर श्रेष्ठले बताउनुभयो। साप्सुखोला जलविद्युत आयोजना हिमालयन बैङ्क र राष्ट्रिय बाणिज्य बैङ्कले ६५ प्रतिशत ऋण तथा सञ्चालकको ३५ प्रतिशत स्वपूजी लगानीगरी करीब रु एक अर्ब ५० करोड खर्चमा सञ्चालनमा ल्याइएको हो।

राजापानीको बेलडाँडास्थित पावरहाउसबाट उत्पादित विद्युत २.५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेशनमार्फत केन्द्रीय प्रशारणलाइनमा जोडिएको छ। प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले विद्युत तथा बाटो मर्मतको माग गरेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका मनोज राईले बताउनुभयो।

उता, रावाखोलाको पानीलाई सुङ्देलको बिहीबारेमा निर्माण गरिएको हेडड्रेसबाट दुई हजार १०० मिटर लामो पाइपलाइनमार्फत सुङ्देलकै दाम्कुबेँसीमा पानी खसाएर विद्युत उत्पादन गरिएको छ। जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रशारणलाइनमा जोडिएसँगै नेपाल विद्युत प्राधिकरण खोटाङले जिम्मा लिएको आयोजनाका प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिका सञ्चालक मुक्ति तिम्सिनाले बताउनुभयो।

राष्ट्रिय बाणिज्य बैङ्कको ७० प्रतिशत र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशतगरी करीब रु ६० करोडको लागतमा माथिल्लो रावाखोला जलविद्युतको काम सम्पन्न भएको जनाइएको छ। विसं २०६८ सालदेखि उत्पादनको पहल थालिए पनि विसं २०७३ सालदेखि मात्र माथिल्लो रावाखोला साना जलविद्युत आयोजनाको लागि कन्ट्रक्सन निर्माणको काम शुरु गरिएको थियो।

यता, समुदायको ३० प्रतिशत तथा सानिमा बैङ्कको ६० र बैङ्क अफ काठमाडौँको ४० प्रतिशतगरी करीब रु २२ करोडको लागतमा उत्पादित मेवाखोला हाइड्रोपावर विसं २०७२ मङ्सिरदेखि सञ्चालनमा ल्याएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले बताउनुभयो । मेवाखोलाबाट उत्पादित विद्युत जिल्लाका अन्य जलविद्युत आयोजनाभन्दा पहिले केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो।

दश स्थानीय तह रहेको जिल्लामा अहिले तीन मेगावाट विद्युत खपत भइरहेको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख विजयराज रेग्मीले बताउनुभयो। “जिल्लामा अहिले २० हजार ७८९ विद्युत् उपभोक्ता रहेका छन्”, उहाँले भन्नुभयो, “जिल्लामा उत्पादित विद्युतमध्ये तीन भागमा एक भाग पनि खपत भएको छैन।”

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा वि.सं. २०६८ जनगणनाअनुसार ४२ हजार ६४७ घर बसोबास गर्छन्। उक्त तथ्याङ्कको आधार मानेर हेर्ने हो भने, खोटाङमा आधाभन्दा बढी घरधुरीमा केन्द्रीय प्रशारणलाइनको विद्युत् पुगेको छैन।

यद्यपि, जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रशारणलाइनको विद्युत विस्तार भएको पाइएको छ। केन्द्रीय प्रशारणलाइनका विद्युत नपुगेका ठाउँमा स्थानीय हाइड्रोपावरमार्फत् उत्पादित विद्युत खपत भइरहेको छ।

कमेन्ट गर्नुहोस्