काठमाडौं । शुक्रबार कोभिड–१९ संक्रमणको पुष्टि भएका १० हजार ७०३ जनासँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक साताकै अवधिमा कोभिड–१९ संक्रमणको वृद्धि तीव्र रुपमा भएको छ।
विगत दुई सातादेखि नेपालमा कोभिड–१९ निरन्तर बढिरहेको छ र १० हजाभन्दा बढी सङ्क्रमण पुष्टि भएको शुक्रबार लगातार चौथो दिन हो।
शुक्रबार दिउँसो प्रकाशित विवरण अनुसार विवरणअनुसार विगत २४ घण्टामा १८ हजार ६१८ वटा परीक्षण पीसीआर विधिबाट र ४ हजार ४७४ वटा एन्टिजन विधिबाट कुल २३ हजार ९२ परीक्षण गरिएको थियो। पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये ४७.३ प्रतिशतमा र एन्टिजन परीक्षणमा ४२.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल देशभरि सङ्क्रमितको सङ्ख्या ६५ हजार ३७४ रहेको छ। तीमध्ये झन्डै दुईतिहाई काठमाण्डू उपत्यकामा रहेको तथ्याङ्कले देखाउँछ। सक्रिय सङ्क्रमितमध्ये ३० हजार ६८८ जना काठमाडौंमा, ७ हजार १४५ जना ललितपुरमा र ४ हजार २२३ जना भक्तपुरमा छन्। यसरी काठमाडौं उपत्यकामा मात्रै अहिले ४२ हजार ५६ जना सक्रिय संक्रमितहरु रहेका छन् भने उपत्यका बाहिर २३ हजार ३१८ जना संक्रमितहरु रहेका छन्।
विगत २४ घण्टामा काठमाडौंमा ४ हजार २७९ जना, ललितपुरमा ५६७ र भक्तपुरमा ४५६ जना नयाँ सङ्क्रमित थपिएका छन्। काठमाडौं उपत्यकाबाहेक सबैभन्दा बढी मोरङमा ६४६ जना, सुनसरीमा ३३२ जना, झापामा २७६ जना, कास्कीमा २५४ जना र रुपन्देहीमा २७२ जना नयाँ सङ्क्रमित थपिएका छन्।
अहिले आईसीयूमा १९४ जना र भेन्टिलेटरमा ३५ जना बिरामी भएको मन्त्रालयले जनाएको छ। विगत २४ घण्टामा निको हुने सङ्क्रमितको सङ्ख्या ७६६ रहेको छ।
यसैबीच डेल्टा भेरियन्टका कारण गएको चैत वैशाखमा दोस्रो लहरमा फैलिएकोमा यसपालि ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या बढेको हुनसक्ने विज्ञहरू बताउँछन्। तर सरकारले ओमिक्रोनबाट सङ्क्रमित व्यक्तिहरूका बारेमा छुट्टै तथ्याङ्क भने दिएको छैन।
पौष १८ मा देशभरि केवल २१६ जनामा कोभिड पुष्टि भएकोमा पुस २५ गतेदेखि १ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि हुन थालेको हो।