केन्द्रीय मन्त्रीले बैठक चलेको बेला ढोका थुनेर निर्देशकको हात भाँचे, ७ करोडको खर्च माग्दा भएको थियो विवाद

नयाँ दिल्ली । भारतका केन्द्रीय मन्त्री विश्वेश्वर टुडुमाथि बैठक चलेका बेला ढोका थुनेर कर्मचारी कुटेको आरोप लागेको छ ।

मन्त्रीले हातपात गर्दा एकजना अधिकारीको हात टुटेको छ । उनलाई अस्पताल भर्ना गरिएको छ ।

मोदी सरकारमा आदिवासी मामिला र जलशक्ति राज्यमन्त्री टुडुले उनकै गृहनगर उडिसाको बारीपदामा ती कर्मचारीलाई कुटेका हुन । उनी भाजपाका तर्फबाट सांसद हुन ।

भास्कर दैनिकका अनुसार, केन्द्रीय मन्त्रीले आफ्नो कार्यालयमा अनुगमन तथा मूल्यांकन निकायका दुई जना उपनिर्देशक अश्विनी कुमार र देवाशीष महापात्रालाई बोलाएका थिए ।

पीडितका अनुसार, समीक्षा बैठकको बेला कुनै कुरामा मन्त्री निकै उत्तेजित बनेपछि उनले ढोका बन्द गरेर दुबै कर्मचारीमाथि कुर्सीले आक्रमण गरेका थिए । हातपात हुँदा महापात्रको हात टुटेको छ भने अश्विनी कुमार पनि घाइते भएका छन् । “बैठक चलेको थियो, अचानक मन्त्री रिसाए अनि ढोका बन्द गरेर कुर्सीले हान्न थाले ।” महापात्राले मिडियालाई भनेका छन् ।

मन्त्रीले भने ७० करोडको योजनाको खर्च विवरण मागेपनि उनीहरुले फाइल नै ल्याउन नखोजेकोले आक्रोश उत्पन्न भएको बताएका छन् । कर्मचारीले भने आचारसंहिताका कारण फाइल लगेर मन्त्रीको अफिस जान नसकिने भएकोले फाइल नलगेको कारण मन्त्रीले हातपात गरेको बताएका छन् ।

मन्त्रीमाथि हातपात गरेको आरोपमा स्थानीय प्रहरीकहाँ मुद्दा दर्ता भएको छ ।

कमेन्ट गर्नुहोस्