एक दिनको अन्तरमा हराए एक पुरुष र महिला, भेटिए सँगै नदी किनारमा दुवैका बाहिरी वस्त्र

काभ्रे । भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक महिला र एक पुरुष बेपत्ता भएका छन्।

एक दिनको फरकमा हप्ता दिनअघि घरबाट बेपत्ता भएका महिला र पुरुषका बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पनौती नगरपालिका–८ खरिबोटका ४० वर्षीय माधव फुयाँल र नमोबुद्ध नपा–५ की अन्दाजी ३० वर्षीया सिर्जना भण्डारी कोइराला दुबैले कालो जेन्ट्स ज्याकेट, गाढा सुन्तला रङ्गको लेडिज कोट, कालो र खरानी रङ्गका दुई जोर जुत्ता, कालो लेडिज र जेन्ट्स पर्स, घडीलगायत सामग्री छाडेर बेपत्ता भएका हुन्।

शुक्रबार बिहान दोभानमा मलामी गएका स्थानीयवासीले पुरुष र महिलाको लुगा देखेपछि दोलालघाट प्रहरीलाई खबर गरेका थिए। शुक्रबार छाडिएका ती कपडा र सामग्री केही दिनअघि हराइरहेका माधव र सिर्जनाकै भएको उनीहरुका आफन्तले पहिचान गरेका छन्।

परिवारका अनुसार कोइराला गत आइतबारदेखि र फुयाँल सोमबारदेखि घरबाट बेपत्ता थिए। फुयाँलको श्रीमती, एक छोरा र एक छोरी छन् भने कोइरालाको एक छोरी छिन्।

दुवै जना शङ्कास्पद तरिकाले लुगा छाडेर बेपत्ता भएकाले प्रहरीले सबै तरिका अपनाएर खोजी गरिरहेको खतिवडाले बताउनुभयो। बेपत्ता भएका दुवैको सुनकोसी नदीमा खोजी कार्य भइरहेको र यसमा सघाउन प्रहरीले सार्वसाधारणमा आग्रह पनि गरेको छ। रासस

कमेन्ट गर्नुहोस्